बुधबार, पुष २, २०८२

पोखराबाट चीनको ल्हासा नियमित उडान आगामी चैतको तेस्रो सातादेखि

नेपालखोज २०८१ फागुन २० गते १६:४४

काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले पहिलो व्यावसायिक उडान सुरु गर्न लागेको छ । हिमालयले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको हो ।

काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं जोड्नेगरी उडान गर्न लागेको हिमालय एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । पोखरालाई ल्हासासँग जोड्न सातामा एक उडान गर्नेगरी उडान तालिका निर्धारण गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ल्हासा उडानका लागि हिमालय एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमति लिइसकेको छ । क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार हिमालय एयरलाइन्सले ल्हासामा पहिलो ‘सेडुअल फ्लाइट’ गर्नेगरी उडान अनुमति मागेको छ । ल्हासा उडान प्रक्रिया अन्तिम चरणमा छ । त्यसैगरी, चीनको सिचुवान एयरलाइन्सले आगामी चैत ५ गतेदेखि पोखरा–छेन्दु गन्तव्यमा व्यावसायिक उडान गर्ने तयारी गरेको छ ।

यद्यपि, क्यानबाट उडान अनुमतिलगायत प्रक्रिया पूरा भइसकेको छैन । पोखरा–छेन्दु सातामा एक उडान गर्ने तयारी भएको एयरलायन्सले जनाएको छ । सिचुआन एयरलाइन्सको नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्सी (जिएसए) सोसाइटी इन्टरनेसनल रहेको छ । क्यानका सूचना अधिकारी भूलले यो उडानले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय नियमित उडान भएको सन्देश जाने विश्वास व्यक्त गरे ।

नेपालको पर्यटकीय राजधानी पोखरा र विश्व प्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासाबीच हवाई सम्पर्क सञ्जाल विस्तार गर्न लागिएको हो । योसँगै नेपालमा चिनिया पर्यटक बढ्ने विश्वास लिइएको छ । हिमालय एयरलाइन्सले हाल काठमाडौंबाट ल्हासा एक सातामा पाँच उडान गरिरहेको छ ।

पोखराबाट पनि ल्हासामा थप एक उडान गर्न लागेको हो । हिमालय एयरलाइन्सले चैत १८ देखि उडान गर्नेगरी उडान अनुमति मागेको छ, अनुमतिको प्रक्रियामै छ, क्यानका सूचना अधिकारी भूलले भने, काठमाडौं–ल्हासा पोखरा र पोखरा–ल्हासा काठमाडौँ उडान गर्नेगरी अनुमतिको प्रक्रियामा छ । उनका अनुसार हिमालय एयरलाइन्सको जहाज सोमबार ल्हासाबाट पोखरा आउनेछ र मङ्गलबार पोखराबाट ल्हासा जानेगरी सातामा एक उडान अनुमति मागेको छ । मागअनुरुप भविष्यमा उडान थप्न सकिने क्यानले जनाएको छ । सिचुवान एयरलाइन्सको उडान मिति भने तय भइनसकेको उनले बताए । सिचुवान एयरलाइन्सले पोखराबाट काठमाडौं परीक्षण उडान गरिसकेको छ ।

प्रतिक्रिया