मुक्कुम्लुङ केबलकार खारेजी आन्दोलनमा नेपाल संघीय समाजवादी पार्टीको समर्थन

काठमाडौं । मुक्कुमलुङमा केबुलकार निर्माण खारेजीका लागि भइरहेको आन्दोलनमा पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले समर्थन जनाएको छ ।
काठमाडौंको माइतीघर मण्डलामा मुक्कुमलुङ जनताको नो केबुलकार आन्दोलनलाई समर्थन गर्दै नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष अन्सारीले सम्बोधन गरेका हुन् । उनले यो आन्दोलन लिम्बुको आन्दोलन मात्रै नभएको भन्दै यो सम्पूर्ण नेपालको उत्पीडित जनता, आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, महिला र आर्थिक उत्पीडनमा परेका सम्पूर्ण नेपाली जनताको आन्दोलन रहेको बताए ।
राज्यद्वारा गरिएको दमनको घोर भत्र्सना तथा निन्दा गर्दै उनले दमन र उत्पीडन गर्ने यस घटनाका जिम्मेवार दोषीलाई छानबिन गरी तुरुन्त कारबाही गर्न र वार्ताको वातावरण निर्माण गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
यसैगरी, उनले रिंकु सदाका हत्यारालाई कडाभन्दा कडा कारबाही गर्न सरकारले हिम्मत देखाओस् भनेर पनि आवाज उठाएका थिए । राज्यद्वारा गरिएको आतंक र निरंकुशता प्रतिगमन र मुलुकलाई पश्चगमनतर्फ धकेल्ने सबै प्रयासको विरुद्ध नेपालका उत्पीडित जनता एकजुट भई लड्नु बाहेक अर्को कुनै विकल्प नरहेको बताए ।

प्रतिक्रिया