अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा श्याल्पा गुम्बामा विशेष कार्यक्रमको आयोजना

नेपालखोज २०८१ फागुन २३ गते ९:२५

काठमाडौं । अन्तर्राष्ट्रिय शान्ति दिवस २०२४ को अवसरमा काठमाडौंको कपनस्थित श्याल्पा गुम्बामा युनिभर्सल पीस स्याङ्क्चुरीद्वारा आयोजित विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा विश्व शान्ति र एकताको प्रवद्धनका लागि महत्वपूर्ण योगदान पुर्याउने विभिन्न प्रतिष्ठित व्यक्तिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको महत्व र युनिभर्सल पीस स्याङ्क्चुरीको मिशनलाई स्पष्ट पार्दै शान्ति मनाउन मात्र होइन, हाम्रो उद्दश्यलाई वास्तविकतामा परिणत गराउन प्रतिबद्धता हुन पनि भेला भएका छौं भन्दै युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्य सुनिल शक्यले स्वागत भाषणले स्वागत गरेका थिए ।

कार्यक्रमका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोचेले आफ्नो सम्बोधनमा प्रेम र करुणाको जगमा शान्ति स्थापना गर्नुपर्ने कुरालाइ जोड दिए । शान्तिको माध्यमबाट मात्र विश्वमा दिगो समाधानको खोजी गर्न सकिने उनको जोड थियो । विभिन्न धर्मलम्बीहरुको आआफ्ना गन्तव्य स्थान छन तर विश्वमा शान्ति अपरिहार्य छ र त्यो एक मात्र शान्तिको गन्तव्य मात्र नेपालको लुम्बिनी हो ।

विश्वमा नै लुम्बिनी एक मात्र शान्तिको गन्तव्य बनाउन विश्वशान्ती धाम अर्थात युनिभर्सल पिस सन्क्चुरी निर्माणमा आफु लागि परेको पनि उनले बताए । कार्यक्रममा लुम्बिनीमा निर्माणाधीन युनिभर्सल पीस स्याङ्क्चुरीको प्रगतिको विवरण बारे जानकारी दिनुका साथै यस महत्त्वपूर्ण परियोजनामा सहयोग गर्ने सबै सहयोगी दातालाइ पनि धन्यवाद व्यक्त गरे । कार्यक्रममा बुद्धनीलकण्ठ नगरपालिकाका मेयर विभिन्न देशका राजदूत, कूटनीतिज्ञ, समाजसेवी, र युनिभर्सल पीस स्याङ्क्चुरीका जीवनभरिका सदस्यहरुको बाक्लो उपस्तिथि थियो ।

भगवान बुद्धकी आमा मायादेवीको जीवन र निस्वार्थ मायाको योगदानबारे विशेष चित्रण गरिएको मायादेवी साङ्गीतिक नाटक पनि प्रस्तुत गरियो । यस अवसरमा नेपालका परम्परागत सांस्कृतिक र संगीतका आकर्षक धुनले आतिथ्यलाई थप सत्कार गरिएको थियो । शान्ति,करुणा र मानवीय समझदारीको माध्यमबाट मात्र युद्ध र द्वन्द्वको विकल्प खोज गर्न सकिन्छ र यहि युनिभर्सल पीस स्याङ्क्चुरीको मुख्य उद्देश्य रहेको पनि योजनाका मुख्य अगुवा श्याल्पा तेन्जिन रिन्पोछेले बताए ।

प्रतिक्रिया