बुधबार, पुष २, २०८२

बस्ती संरक्षणका लागि तटबन्धन

नेपालखोज २०८१ फागुन २४ गते ७:२२

ढोरपाटन (बागलुङ) । बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो ।

जलस्रोत तथा सिँचाइ विकास विभागबाट विनियोजित रू ५० लाखको लगानीमा तटबन्धन गर्न थालिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए । नदी कटान रोक्नका लागि चालु आर्थिक वर्षमा गलकोट नगरपालिका–१, ३, ६ र ११ का बस्ती संरक्षण गर्न थालिएको उनको भनाइ छ ।

तटबन्धनको लागि उपभोक्ता समितिमार्फत काम तीव्र गतिमा भइरहेको भण्डारीले बताए । हिउँदमा पानीको बहाव कम हुँदा जोखिम नभए पनि बर्खामा खोला बढेर बस्तीमा पस्ने समस्या भएपछि तटबन्धन गर्न ताथिएको उहाँ बताउनुहुन्छ । गलकोट नगरको बजार क्षेत्र नदी किनारमा रहेको हुँदा कटान हुने जोखिम रहेको भण्डारीको भनाइ छ ।

अहिले गलकोट नगरपालिका–३ मा ३५ मिटर, वडा नम्बर ४ मा २७ मिटर, वडा नम्वर ६ मा ५६ मिटर, वडा नम्वर ११ मा ४४ मिटर तटबन्धन निर्माण भइरहेको तटबन्धन निर्माण समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । खोलाको उच्च जोखिम भएको ठाउँलाई प्राथमिकता दिएर तटबन्धनको काम गरिरहेको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया