‘होस्टेल ३’ हेर्न दर्शकको व्यापक चाप, दर्शक भेट्न कलाकार हल पुग्दा बोकेर नचाए

काठमाडौं । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ’होस्टेल ३’को विकेन्ड ओपनिङ उत्साहजनक भएको छ ।
शुक्रबार देशभरका हलमा करिब ५० प्रतिशत अकुपेन्सी थियो भने शनिवार बिहानैदेखि धेरै हलमा शतप्रतिशत र केहीमा ८० देखि ९० प्रतिशतसम्म अकुपेन्सी रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले बताए । त्यस्तै, काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा व्यापक रूपमा चलचित्रले सफलता प्राप्त गरेको बताए ।
यसैबीच, यस चलचित्रका कलाकार शनिवार बिहानैदेखि काठमाडौंका हलमा दर्शक भेट्न पुगिरहेका छन् । दर्शकहरूले कलाकारलाई बोकेर नचाइरहेका छन् भने कलाकार आफ्नो अगाडि पाउँदा खुसीले व्यापक हुटिङ गरिरहेका छन् । दर्शकले ’होस्टेल ३’ अपेक्षा गरिएको भन्दा निकै राम्रो रहेको भन्दै पूर्ण मनोरञ्जन प्राप्त गरेको प्रतिक्रिया दिएका छन् ।
हलमा कलाकार पारस बम ’कूलब्वाय’, सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएनसहित निर्देशक सशान कँडेल पनि पुगिरहेका छन् । उनीहरूले दर्शकसँग प्रतिक्रिया लिँदै फोटो र भिडियो खिचाइरहेका छन् ।
निर्देशक सशान कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गरे । उनले भने, “चलचित्रले दुई दिनमै उत्साहजनक व्यापार गरेको छ, तर मेरो लागि सबैभन्दा ठुलो उपलब्धि दर्शकहरूको माया र सकारात्मक प्रतिक्रिया हो । व्यापार त महत्त्वपूर्ण छ, तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा दर्शकले चलचित्रलाई कसरी आत्मसात् गर्छन् भन्ने हो ।”
उनका अनुसार ‘होस्टेल ३’ ले दर्शकहरूलाई भरपुर मनोरञ्जन दिन सफल भएको छ । “म यो सफलता मेरो मात्र नभएर सम्पूर्ण टिमको मेहनतको परिणाम हो भन्ने मान्छु । नेपाली चलचित्रप्रति दर्शकहरूको यो माया निरन्तर रहोस्,” कँडेलले थपे ।
माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन् ।
चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।
प्रतिक्रिया