मंगलबार, वैशाख २३, २०८२

‘आमाको नामबाट नागरिकता प्रदान गर्दा पितृसत्ता समाजको जग हल्लियो’

नेपालखोज २०८१ फागुन २४ गते २१:१४

काठमाडौं । महिला अधिकारका क्षेत्रमा क्रियाशीलले महिला आन्दोलनबाट स्थापित हकअधिकार र मूल्यमान्यतालाई राज्यले प्रोत्साहन गर्न आवश्यक रहेको बताएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) महिला सङ्घद्वारा आज यहाँ ११५औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा आयोजित ‘वैकल्पिक राजनीति र महिला नेतृत्व’ विषयक कार्यक्रममा उनीहरूले राजनीतिमा संलग्न महिलालाई प्रेरित गर्न सबैले समान अवसर प्रदान गर्नुपर्ने धारणा राखे ।

पार्टीका उपाध्यक्ष मानुषी भट्टराईले वैकल्पिक राजनीति भनेको पश्चगमन नभई राजनीतिलाई विधि, कानुन र व्यवहारबाट सु–संस्कृत तुल्याउनु रहेको उल्लेख गरे । उनले समान बाबु र आमाको नामबाट नागरिकताको प्रमाणपत्र जारी गर्ने कार्यले पितृसत्ता समाजको जग हलिएको विचार राखे ।

जनमत पार्टीकी नेत्री गोमा लाभ सापकोटाले राजनीतिक दलले अवसर र कार्य जिम्मेवारीमा महिलालाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै किसान र महिला अधिकारका मुद्दालाई आफ्नो पार्टीले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

विवेकशील साझा पार्टीका नेत्री रञ्जु दर्शनाले राज्यको अर्थतन्त्र बलियो बनाउन र औद्योगिकीकरणको वातावरण बनाउन उद्योगधन्दा खोल्न प्रोत्साहन गर्ने नीति बनाउन आवश्यक रहेकामा जोड दिए ।

अधिकारकर्मी कैलाश राईले महिला आफ्नो अधिकारका लागि भौतिक, मानसिक र सिद्धान्तका हिसाबले तयार रहनुपर्ने आवश्यकता औँल्याए । उनले महिला आर्थिक, शैक्षिक, मानसिक र सैद्धातिक रूपमा सक्षम हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया