शनिबार, असार ७, २०८२

वैदेशिक रोजगारीबाट फर्किएका सर्लाहीका इन्द्रलाल केराखेतीबाट मासिक एक लाखसम्म आम्दानी

नेपालखोज २०८१ फागुन २५ गते १०:३२

सर्लाही । बागमती नगरपालिका-१० निवासी ४७ वर्षीय इन्द्रलाल बल विगत नौ वर्षदेखि केराखेतीमा सम्लग्न हुनुहुन्छ छ । उनले साढे सात बिघा खेतमा केराखेती गरेका छन् । उनले भने, ‘मेहेनतअनुसारको उत्पादन र उत्पादनअनुसारको राम्रो व्यापार भएका कारण केराखेतीबाट मनग्य आम्दानी भइरहेको छ ।’

कृषि उत्पादनमा व्यावसायिक रूपले जोडिनुपर्ने उनको तर्क छ । ‘हामी आफ्नो माटोमा सुन फलाउन छाडेर विदेशमा पित्तल कमाउन पुग्ने गर्छौँ’, उनले भने । झण्डै पाँच वर्ष वैदेशिक रोजगारीमा मलेसिया मा विताएका उनी युवाहरूलाई देशमै केही गर्न आग्रह गर्छन् ।

विगत एक दशकदेखि बिहान सबेरैदेखि साँझ अबेरसम्म उनी केराबारीमा भेटिन्छन् । खेतीबारी राम्रो हुन त्यसलाई पर्याप्त स्याहारसम्भार गर्नुपर्ने उनको अनुभव छ । ‘हाम्रो बानी कस्तो छभने खेतमा बाली लगाउने अनि फर्केर नजाने’, उनले भने, ‘यसरी खेती हुँदैन, हाम्रा पितापुर्खाले भन्ने गर्नुभएको उखानै छ । घोकन्ते विद्या, ध्याउन्ते खेती ।’

बुबाबाजेले खेतीपाती गरेको देखेर रहेका उनले राजनीतिशास्त्रमा प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरे । तत्कालीन राज्यसत्ताविरुद्ध माओवादीले गरेको सङ्घर्षमा होमिएका उनी २०६५ सालमा वैदेशिक रोजगारीमा जानए ।

शान्ति वार्तापछि माओवादी सरकारमा गयो । हामी परिवार पाल्नै नसक्ने भएपछि भारतको बाटो हुँदै मलेसिया पुग्यौँ । माओवादी द्वन्द्वबाट आएका ४२ जना एकैपटक मलेसिया अवतरण भएका थियौँ । विदेशको भूमि, हावापानी, रहनसहन, भाषा, वेशभूषा सबै नयाँ । हामीलाई त्यहाँ महिनौँसम्म मार्बल र ढुङ्गा बोकाइयो । निकै कष्ट भयो । सीपबिनाको वैदेशिक रोजगारी पशुले गर्ने सङ्घर्ष हुने उनको भनाइ थियो ।

यसरी पाँच वर्ष काम गरेपछि २०७१ सालमा स्वदेश फर्किएँ । विदेशबाट ल्याएको पैसा एउटा घर बनाउनेबित्तिकै सकियो । फेरि दैनिक छाक टार्नै धौधौको अवस्थामा पुगियो । परिवार बिरामी पर्दा छिमेकमा सापटीसमेत पत्याउन छाडे । काम र दुःख सम्झेर विदेश जाने आँट पनि आएन । त्यसपछि छिमेकीको खेत भाडामा लिएर केराखेती सुरु गरेको उनले सुनाए । त्यसयता उनले दुःखलाई फर्किएर हेर्नुपरेको छैन ।

गाउँमा रु पाँच सय कसैले नपत्याउने अवस्थाबाट केराखेतीले सम्मानजनक जीवन दिएको उनको कथन छ । पुख्र्यौली सम्पत्तिका नाममा तीन कठ्ठा जग्गा पाएका उनले १० वर्षमा १५ कठ्ठा खेत, दुई ठाउँमा घडेरी जोडेको बताए । तीन सन्तानलाई उनीहरूले चाहेअनुसार आजको युग सुहाउँदो शिक्षादीक्षा यसै खेतीको आम्दानीबाट पूरा गरिरहेको उनको भनाइ छ ।

उनले एक छोरालाई फार्मेसी पढाएका छन् । दुई सन्तान उच्च शिक्षा अध्ययनरत छन् । छोराछोरीलाई आजको समाजमा बाँच्न सक्ने वातावरण तयार गर्न सक्नु नै ठूलो सम्पत्ति आर्जन भएको बताए । आफूहरूजस्तो निम्नवर्गीय परिवारका लागि शिक्षा निकै महँगो बन्दै गएको छ । पैत्रिक सम्पत्तिका नाममा तीन कठ्ठा खेत पाउनुभएका उनले छिमेकीको एक बिघा खेत भाडामा लिएर केराखेती सुरु गरेको बताए ।

उनको केराखेती अहिले साढे आठ बिघा पुगिसकेको छ । उनले वर्षको प्रतिकठ्ठा चार हजार आठ सयदेखि छ हजार पाँच सय रूपैयाँ सम्म भाडा तिर्छन् । केरा रोपेको १२ देखि १४ महिनाबाट उत्पादन दिन सुरु हुन्छ । नौ हजार दुई सय बोट केरा रहेकामा प्राकृतिक प्रकोपमा परेर वर्षमा सय बोटसम्म केरा क्षति हुने गरेको उनको भनाइ छ । सुरुमा खनजोत, मलखाद, मजदुर गरी रु २२ लाख लगानी गरेको खेतीबाट १४ महिनामा रु ३१ लाख बढीको केरा बिक्री गर्ने उनको भनाइ छ ।

प्रतिकोसा रु ३।५० पैसाका दरले कम्तीमा तीन सय ५० देखि पाँच सयसम्म प्रतिघरी केरा बिक्री हुन्छ । छठ तथा चाडपर्वमा अझै महँगोमा बिक्री हुने उहाँले जानकारी दिए । यहाँ उत्पादन भएका केरा स्थानीय हरिवन, बरहथवा, नयारोड, सोल्टीलगायत बजारसम्म लैजाने गरिएको छ ।

पैसासमेत दैनिक पाइने भएपछि खेती गर्न उत्साह थपिने गरेको उनी सुनाए । किसान बलले केराखेतीमा पाँच जनालाई नियमितजस्तै काम दिने गरेका छन् । पात काट्ने, गोडमेल गर्ने, मलजल गर्ने, केरा काट्नेलगायत काम हुन्छ ।

उनी आफैँ पनि नियमित काम गर्ने भएकाले एक जना मजदुरको काम आफैँले भ्याउने गरेको उनको भनाइ छ । भारतीय केराका कारण बेलाबेलामा बजारमा समस्या हुने गरेको उनले सुनाए । भारत सरकारले किसानलाई खेती, लगानी र ढुवानी गरेर ९० प्रतिशतसम्म अनुदान दिएको केरासँग हाम्रो महँगो लगानीको उत्पादनले प्रतिस्पर्धा गर्नुपर्दा समस्या हुने गरेको उनले बताए ।

प्रतिक्रिया