मंगलबार, वैशाख १६, २०८२

थारुआलु खेतीबाट आम्दानी लिँदै किसान

नेपालखोज २०८१ फागुन २६ गते ६:०६

अत्तरिया (कैलाली) । यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारुआलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष रु तीन लाख आम्दानी लिएको बताए ।

उनका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन । उनले तरकारी खेती समेत गर्ने गरेको बताए ।

सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताए । उनले पनि आलुखेतीसँगै तरकारी खेती समेत गर्ने गरेको बताए । उनले तरकारी र थारु आलु बिक्रीबाट वार्षिक रु तीन लाखसम्म बचत गर्ने गरेका छन् ।

माग बढ्न थालेपछि लगाउन छाडिएको थारुआलु पछिल्लो समय लगाउन थालिएको उनको भनाइ छ । सोही ठाउँका स्थानीय रवि चौधरीले यस वर्ष चार कठ्ठामा थारुआलु खेती गरेको बताए । रासस

प्रतिक्रिया