उपत्यकामा ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्नेमा उपप्रधानमन्त्रीको जोड

नेपालखोज २०८१ फागुन २७ गते १५:४७

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आगामी बजेटमा उपत्यकाको समेट्नैपर्ने योजनाबारे उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरेका छन् ।

सहरी विकास मन्त्रालयमा आज उपप्रधानमन्त्री सिंहले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका नगर प्रमुख र उपप्रमुखहरुसँग छलफल गरे । याे क्रममा उपत्यकालाई कसरी व्यवस्थित र बस्नयोग्य सहर बनाउने, उपत्यकाका नदी प्रणाली सुधार्ने, फोहोरमैला र ट्राफिक व्यवस्थापनको समस्या कसरी हल गर्ने भन्ने विषयमा प्रमुख र उपप्रमुखहरुले धारणा राख्नुभएको थियो ।

उपप्रधानमन्त्री सिंहले उपत्यकामा बग्ने नदीहरुलाई सफा राख्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उनले उपत्यकाका नदी प्रणाली स्वच्छ बनाउन ‘सेप्टिक ट्याङ्क’ अभियान चलाउनुपर्ने बताए । उनले सेप्टिक ट्याङ्क बनाउने कार्यलाई उपत्यकामा अभियानकै रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले उपत्यकालाई स्वच्छ, सफा र स्वस्थ राख्न तीनै तहका सरकार मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

उपप्रधानमन्त्री सिंहले आफूले सहरी विकास मन्त्रालय सम्हालेदेखि नै बाग्मती र धोबीखोलामा अर्बौं रुपैयाँ खर्च भए पनि योजना बनाउँदा किन कमजोरी भयो भनेर प्रश्न उठाइरहेका र त्यसलाई सच्याउँदै सिधै ढल मिसाउन नदिन आवश्यक काम अघि बढाएको बताए ।

छलफलमा उपत्यकाका विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले फोहोरमैला व्यवस्थापन, नदीको स्वच्छता र सफाइ, सहरी पूर्वाधारको विकासमा आउने बजेटमा सम्बोधन गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया