बिहीबार, पुष ३, २०८२

लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

नेपालखोज २०८१ फागुन २८ गते १२:१४

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २९५ ट्याब्लेट सहित सोही नगरपालिका-४ बस्ने इलाम घर भएका २२ वर्षीय सुमन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोरपाटीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय बल राम रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सिराहाको गोलबजार नगरपालिका-४ स्थित हाइवे होटलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६७० मिलिग्राम सहित होटलका संचालक औरही गाउँपालिका-२ बनिनिया टोल बस्ने ३० वर्षीया नगिरा खातुनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटेलमा लागूऔषध बिक्री वितरण भइहरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले होटलमा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै सोही होटल बाहिरबाट गोलबजार नगरपालिका–७ चोहर्वा बस्ने १६ वर्षीय किशोरलाई समेत लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ फुलचोकबाट नियन्त्रित लागूऔषध ट्रामोल १ हजार १ सय ९० ट्याब्लेट र स्पास्पेन १ हजार २८ ट्याब्लेट सहित सप्तरी सप्तकोशी नगरपालिका-६ फत्तेपुर बस्ने ३२ वर्षीय प्रदिप बिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–९ भोजपुरे टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने पाँचथर फिदिम नगरपालिका–३ घर भएका ३२ वर्षीय किरण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाको दमक नगरपालिका–६ अनाम टोल डेरा गरी बस्ने सोही नगरपालिका-५ घर भएका ३२ वर्षीय सुरज गुरूङ समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६० ट्याब्लेट र स्पास्पेन ३ सय ५० ट्याब्लेट सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले सुरजको कोठाबाट उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका–३ बगर टोल बस्ने ५० वर्षीया सितेम्मा राईलाई लागूऔषध गाँजा करिब २ किलो ५ सय ग्राम सहित मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया