बुधबार, जेठ १, २०८२

कोशीबाट ८१ हजार विद्यार्थी एसईईमा सहभागी हुँदै

नेपालखोज २०८१ फागुन २८ गते १६:३८

काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई‌)मा कोशी प्रदेशमा ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका छन् । आउँदो चैत ७ गतेदेखि शुरू हुने एसईई‌मा ८१ हजार ३६० विद्यार्थी सहभागी हुने भएका हुन् ।

प्रदेशका १४ जिल्लामा तोकिएका ३७१ परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले बुधबार पत्रकार भेटघाट आयोजना गरी साधारणतर्फ ७७ हजार ९५७, प्राविधिकतर्फ २ हजार ९७७ र खुला परीक्षार्थीतर्फ ४२६ जना गरी ८१ हजार ३६० विद्यार्थी एसईईमा सहभागी हुने जानकारी गराएको हो ।

कोशी प्रदेशमा सञ्चालन हुने परीक्षामा नियमिततर्फ ७२ हजार ६१३, ग्रेड वृद्धितर्फ ८ हजार ७४७ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । सबैभन्दा धेरै मोरङ जिल्लाको ७० परीक्षा केन्द्रबाट १८ हजार २२१ विद्यार्थीले एसईई परीक्षा दिनेछन् । झापाका ५७ परीक्षा केन्द्रबाट १७ हजार १०३, सुनसरीका ५० परीक्षा केन्द्रबाट १३ हजार ६१३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।

कोशी प्रदेशको तेह्रथुम जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । तेह्रथुमका १४ परीक्षा केन्द्रबाट १ हजार १९४ विद्यार्थी एसईई परीक्षामा भाग लिने मन्त्रालयले जनाएको छ । त्यसपछि कम परीक्षार्थी सोलुखुम्बु जिल्लामा छन् । सोलुखुम्बु जिल्लाका १४ परीक्षा केन्द्रबाट १ हजार ७०२ विद्यार्थीले एसईई परीक्षा दिनेछन् ।

प्रतिक्रिया