तामाकोशी पाँचौंमा तनाव : कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलनमा उत्रिए श्रमिक

नेपालखोज २०८१ फागुन ३० गते १९:००

दोलखा । दोलखाको बिगु गाउँपालिका-४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिक कामकाज ठप्प पारेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

आयोजनाअन्तर्गत अडिट-१ र २ को ठेक्का लिएको ‘सिनो हाइड्रो-केएसएनएस जेभी’ ले नेपालको श्रम कानुन पालना नगरेको भन्दै श्रमिक कामकाज नै ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । ठेकेदार कम्पनीमाथि दबाब सृजना गर्ने उद्देश्यले उनीहरूले आज आयोजनास्थलबाट १६ किलोमिटर टाढा रहेको स्थानीय मुकाम सिंगटी बजारदेखि गोंगरसम्म र्याली आयोजना गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा आजदेखि हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् । यस्तै, श्रमिकहरूको जायज माग ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट-१ र २ लगायत स्थानको सम्पूर्ण काम ठप्प पार्ने उनीहरूको योजना छ ।

सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकको माग सम्बोधन नगरेपछि बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिएका छन् । उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए ।

उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।

उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धि/ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्न/बनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।

नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।

प्रतिक्रिया