आरआरमा एमाले अखिलको दादागिरी, स्वतन्त्र विद्यार्थीमाथि भौतिक आक्रमण

काठमाडौं । आरआर क्याम्पसमा अनेरास्ववियुको किल्ला तोडिने डरले एमाले निकट विद्यार्थीहरुले स्वतन्त्र विद्यार्थीहरुमाथि अक्रमण गरेको आरोप लगाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा स्ववियु निर्वाचनको स्वतन्त्र विद्यार्थी समूहको प्यानलले पत्रकार सम्मेलन गरि सो आरोप लगाएको छ ।
स्ववियु निर्वाचनको स्वतन्त्र विद्यार्थी समूह प्यानलका सभापति पदका उम्मेदवार हर्क बहादुर बोहराले सदियौंदेखि सत्तासिन एमाले निकट अनेरास्ववियुको स्थायी किल्ला आफूहरुले भत्काउने बताए । बोहराले फागुन २८ गते आफ्ना प्यानलबाट सचिव पदका उम्मेदवार दिपक देबकोटासहितका विद्यार्थीहरुलाई भौतिक अक्रमण गरिनु निन्दनिय विषय भएको बताउँदै आक्रमणकारीहरुलाई कारबाहीको माग गरे ।
सामाजिक अभियान्ता हेमराज थापाले दलहरु र दल निकट विद्यार्थीहरुले स्वतन्त्रहरुको अस्तित्वलाई निषेध गर्ने हर्कत निन्दनिय भएको बताए । राजतन्त्रलाई फालेर देशमा नयाँ व्यवस्था ल्याए पनि दलहरु तथा दलका भातृ संगठनको चरित्र, प्रवृत्ति, चिन्तन, व्यवहार र स्वभावमा कुनै परिवर्तन नभएको आरोप लगाए ।
अनेरास्ववियुबाट भौतिक आक्रमण भएका आरआर स्ववियु स्वतन्त्र पदका उम्मेदवार दिपक देबकोटाले एमाले अखिलले आफूहरुलाई भौतिक आक्रमण गरेकोमा ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिए । देवकोटाले आगामी चुनावमा अखिलको किल्ला ढाल्ले ठोकुवा गर्दै सबैलाई भोट हाल्न अपिल गरे ।
थापाथली क्याम्पस स्ववियु स्वतन्त्र सभापति पदका उम्मेदवार ईश्वर रेग्मीले दलगत सिन्डीकेट तोडेर स्ववियुलाई नितान्त सैक्षिक संस्थामा रुपान्तरण गर्ने बताउँदै सबै विद्यार्थीहरुलाई भोट हाल्न अपिल गरे । आरआर स्ववियु स्वतन्त्र समानुपातिक तर्फका उपसभापति पदका उम्मेदवार प्रकाश कपालिले आरआरबाट मात्रै नभएर दशभरीबाटै अखिलको दादागिरी र गुण्डागर्दीको अन्त्य गर्नु पर्ने बताए ।
आरआरकी पीडित छात्रा अप्साना बानुले संविधानले महिला हकअधिकारको प्रत्याभूति गरे ता पनि स्ववियुमा त्यसको लागु नहुनु दुर्भाग्य भएको बताईन । बानुले आरआरमा आफूहरुमाथिको अक्रमण निन्दनिय भएको बताउँदै पीडकमाथि अबिलम्ब कारबाहीको माग गरिन् । स्वतन्त्र कोशाध्यक्ष पदका उम्मेदवार अनु शाही ठकुरीले स्ववियुलाई विद्यार्थी वास्तविक संस्था बनाउन स्वतन्त्रले जित्नुपर्ने धारणा राखिन् ।
आरआरका विभिन्न विद्यार्थीहरुको सहभागिता रहेको सो कार्यक्रमलाई स्ववियुको प्रत्यक्षतर्फका सदस्य पदका उम्मेदवार रेशम सापकोटाले सञ्चालन गरेका थिए ।
के थियो घटना
आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि काठमाडौं स्थित रत्न राज्य लक्ष्मि क्याम्पस(आरआर)मा स्वतन्त्र विद्यार्थी समुहले हर्कबहादुर बोहराको नेतृत्वमा प्यानल घोषणा गरेर प्रचारप्रसारमा लागेको थियो । सोही विषयमा फागुन २८ गते विहान ८ बजे एमाले निकट अनेरास्ववियु आरआरका निराजन भट्टको नेतृत्वमा १०/१२ जनाको समुहले स्वतन्त्र सचिव पदका उम्मेदवार दिपक देवकोटा, छात्रा अप्सना बानुलगायतमाथि निर्घात कुटपीट गरेका थिए ।
त्यसलगत्तै पीडितहरुले क्याम्पस प्रशासनमा गएर निवेदन दिए पनि प्रशासनले वास्ता नगरेपछि उनिहरु प्रहरीवृत्त कार्यालय सिंहदरबारमा उजुरी दिन पुगे तर प्रहरीले तत्काल उजुरी नलिएको पीडित बताउँछन् ।
विभिन्न दबाबपछि ३ घण्टापछि उजुरी लिए पनि पीडक आक्रमण कारीहरुलाई प्रहरी प्रशासनले पक्राउ नगरेको पीडितहरुको गुनासो छ । २०३६ सालेदखि निरन्तर एमाले अखिलको अखडा बन्दै गएको आरआर क्याम्पसमा अहिले पनि आफ्ना चुनौतिहरुलाई पाखा लगाउन एमाले अखिल हरेक हत्कण्डा चलाउँदै आएको पीडितहरुको गुनासो छ ।

प्रतिक्रिया