प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता सम्पन्न

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गरे । साथै उनले सहभागी टिमका व्यवस्थापकलाई मायाको चिनो समेत प्रदान गरे ।
याे अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढि हुने चर्चा गर्दै यस प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्धनमा समेत योगदान पुर्याएको बताए ।
खेलाडीबाट समूहमा प्रदर्शन भएको मेहनत, अनुशासन, खेलकौशल र सामूहिक भावना नेपाल प्रहरीभित्र रहेको भातृत्व भाव र स्वःअनुशासनको प्रतिबिम्ब भएको चर्चा गर्दै प्रतियोगिताको बिजेता एवम् उपबिजेता तथा अन्य विधामा उत्कृष्ठ हुने सबैलाई बधाई दिनुका साथै आगामी प्रतिस्पर्धामा समेत सफलताको कामना उनले व्यक्त गरे ।
प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको खेलकुदका विभिन्न विधामा प्राप्त गरेको ख्याती र नेपाल प्रहरीका खेलाडीले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगितामा सहभागिता जनाई हासिल गरेका सफलता सराहनीय रहेको चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीको सहभागिता र योगदानको कारण नेपाल प्रहरी संगठन र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको विश्वास व्यक्त गरे ।
नेपाल प्रहरीमा आवद्ध खेलाडीले आगामी दिनमा समेत आफ्नो उत्कृष्ट प्रदर्शन मार्फत संगठन र राष्ट्रका श्रीवृद्धिका अवसर सिर्जना गरिरहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै खेलकुदको क्षेत्रमा अझ धेरै सफलता मिलोस् भन्ने शुभकामना समेत उनले व्यक्त गरे । नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवद्र्धन र खेलाडीको मनोबलका लागि संगठन सदैव सकारात्मक रहेको उनले उल्लेख गरे ।








प्रतिक्रिया