सिङ्गो दलित परिवार नै नागरिकताविहीन

नेपालखोज २०८१ चैत ३ गते १०:५०

शम्भुनाथ (सप्तरी) । एउटा सिङ्गो दलित परिवार नै नागरिकताबाट वञ्चित रहेको सुन्दा जोकोहीलाई पनि अच्चम लाग्न सक्छ तर, यर्थाथ यही हो । सप्तरीको शम्भुनाथ नगरपालिका–३ कचन्दाहाका मागैन सदाका पूरै परिवार अहिले आफ्नो पहिचान खोज्न ठूलै सङ्घर्ष गरिरहेको छ । नेपालमै जन्मिए, यही हुर्किएँ तर अहिलेसम्म आफू नेपाली भएको कुनै पहिचान नै पाउन नसकिएको ६० वर्षीय मागैन सदाको गुनासो छ ।

घरकै मूली व्यक्ति मागैनको नागरिकता नबन्दा उनकी श्रीमती ५५ वर्षीया उर्मिलादेवी सदा, उनका जेठो छोरा २२ वर्षीय गोविन्दा, कान्छो छोरा १९ वर्षीय दीपक नागरिकताविहीन छन् । नेपाली भएको प्रमुख पहिचान नै नागरिकता नपाएका ती परिवारका सदस्यहरूले अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै सेवासुविधाबाट वञ्चित भएको दुखसो पोख्छन् । स्थानीय साहुमहाजनमा खेतीपातीको काम गर्दै आएका मागैनले नागरिकताका लागि सबै निकायमा धाउँदै आए पनि पहिचान पाउन नसकिएको बताए ।

जन्मेपछि कानुनी रूपमा राज्यको नागरिकहरूको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबा फनि सदा र आमा चरी सदाको नागरिकता नहुँदा अहिले मागैन सदाको पूरै परिवार नै पहिचानबाट वञ्चित छन् । बुबाको नागरिकता नहुँदा मेरो जन्मदर्ता बन्न सकेन, अहिले मेरो नागरिकता नहुँदा श्रीमती र छोराहरूको पहिचान बन्न नसकेको हो, उनले भने, जन्मदर्ता नबन्दा छोराहरूले विद्यालयमा पढ्न पाएनन् र उनीहरू सानै उमेरमा कमाउन भारत जानुपर्ने अवस्था आयो ।

आर्थिक विपन्नताका कारण केही समय रोजगारीका लागि भारतको पञ्जाबमा काम गरेर फर्केका मागैन अब स्वदेशमै मेहेनत गर्न चाहे पनि नेपाली भएको कुनै पहिचान नहुँदा समस्या भइरहेको सुनाए । उनका अनुसार नागरिकताका लागि तत्कालीन गाविस कार्यालयदेखि अहिलेको स्थानीय तहको वडा कार्यालयसम्म नागरिकताको सिफारिसका लागि धाउँदै आएँ तर सकिएन ।

प्रतिक्रिया