गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको बिदाइ

नेपालखोज २०८१ चैत ४ गते १०:५८

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई शुभकामना सहित बिदाइ गरे । साथै उनले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनो समेत प्रदान गरे ।

उक्त अवसरमा गृहमन्त्री लेखकले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरे । सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवम् इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकता अनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्त गर्नुहुनेछ भन्ने शुभकामना समेत दिए ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्‍चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पु¥याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्त पछि अझ बढि प्रगतिको लागि शुभकामना समेत दिए ।

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पद सम्मको लामोयात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए । आफ्नो कार्यकालको अवधिमा नेपाल प्रहरीको समायानुकुल आधुनिकिकरण, सांगठनिक सुदृढिकरण, विकास र स्तरउन्नतीको लागि नेपाल सरकार, गृहमन्त्रालयबाट प्राप्त भएको अभिभावकत्व, हौसला र मार्गनिर्देशनको लागि कृतज्ञता समेत व्यक्त गरे ।

आगामी दिनमा समेत नेपाल प्रहरी संगठनको श्रीवृद्धि एवम् प्रहरी कर्मचारीको हित र उत्प्रेणाको लागि निरन्तर मार्गदर्शन र सकारात्मक पहलकदमी भइरहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका वरिष्ठ अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया