सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । म्याग्दीको धौलागिरी गाउँपालिका–२ पाखापानीस्थित सडकमा गुर्जादेखि लुलाङतर्फ आउँदै गरेको ग.१ त ७१९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सोही गाउँपालिका–२ बस्ने २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र गम्भीर घाइते भएका १८ वर्षीय डोबिन विकको लुलाङस्थित स्वाथ्य चौकीको उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य ४ जना मध्ये ३ जनालाई थप उपचारको लागि वेनी अस्पताल म्याग्दी पठाइएको छ भने १ जनालाई मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको कंचनरूप नगरपालिका–१० बदगामास्थित सडकमा प्रदेश.१–०२–००३ ह ८६९२ नम्बरको सिटी सफारी र प्र.३–०१–००२ प ८२८९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर, वतन नखुलेका पूरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सिटी सफारी चालक समेत ४ जना र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
पर्साको वीरगंज महानगरपालिका–२२ जगरनाथपुरस्थित सडकमा ड्राईपोर्टबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३००९ प १६१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्सागढी नगरपालिका–६ चैनपुर बस्ने ६० वर्षीया विराजी देवीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको तराई अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया