मनासलु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

गोरखा । उत्तरी गोरखास्थित मनासलु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ । सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय पथप्रदर्शक सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लाबेँसीस्थित खोला किनारमा आज बिहान हिँड्ने क्रममा अचानक ढलेर घाइते भएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
शेर्पा आइएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको पथप्रदर्शकका रूपमा यहाँ आएका रहेछन्, उनले भने, हिँड्ने क्रममा अचानक ढल्दा टाउकोमा गहिरो चोट लागेपछि उपचारका लागि धार्चे आधारभूत अस्पताल लगिएको थियो । प्रनाउ सुवेदीका अनुसार शेर्पाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया