विश्व रङ्गमञ्च दिवस : अभिनयका लागि रङ्गमञ्च

काठमाडौं । आज ६४औँ विश्व रङ्गमञ्च दिवस रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर मनाएका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो ।
पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र रङगमञ्चप्रति लोकप्रियता बढ्दै गएको छ । रङ्गकर्मीका रूपमा उदाएका कलाकार अहिले चलचित्रमा सर्वाधिक खोजिने अनुहारसमेत बनेका छन् ।
रङ्गमञ्च भने अहिले अभिनय सिक्ने मञ्चका रूपमा चिनिन्छ । अभिनेता हरिवंश आचार्यले चलचित्रमा अभिनय गर्न आउने वा अभिनय गर्न इच्छुक रहेका नयाँ अनुहारलाई रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्नुस् भन्ने गरेको बताए ।
चलचित्रमा सशक्त अभिनय गर्नुपर्ने भूमिका हुँदा प्रायः नाटकमा अभिनय गर्ने नाट्यकर्मी खोजिन्छ । कला जीवनको महत्वपूर्ण पक्ष हो । यसले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले समाज बदल्न कलात्मक गतिविधिको महत्वपूर्ण भूमिका रहँदै आएको छ । निर्देशक निश्चल बस्नेतले पनि आफूलाई चाहिने पात्रका लागि रङ्गमञ्चमा रहेका कलाकारलाई अवसर दिने गरेको बताए ।
केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङलगायत धेरै रहेका छन् ।
नाटकमा काम गर्दा अभ्यास र मञ्चन गरेर झण्डै दुईदेखि तीन महिनासम्म समय लाग्ने भएकाले अहिले चलचित्रमा पुगेका अधिकांश रङ्गमञ्चमा फर्किन सकेका छैनन् । व्यावसायिक पाटोभन्दा कला महत्वपूर्ण भएता पनि स्थापित र विस्थापितको लहर चलिरहेको रङ्गकर्मीको भनाइ छ । नाटकसँगै चलचित्रमा अभिनय गरिरहनुभएका अभिनेता आशान्त शर्माले आफूलाई नाटकमा छुट्टै आनन्द आउने बताउनुभयो ।
आर्थिक पक्षलाई सबल बनाउन भए पनि चलचित्रमा काम गर्ने क्रम बढेको छ । यही कारण नाटकमा आफ्नो कला देखाएर चलचित्रसम्मको यात्रा तय गरेका रङ्गकर्मीलाई ‘थिएटर’मा अहिले निकै कम देख्न पाइन्छ । यद्यपि रङ्गमञ्चबाट ठूलो पर्दामा गएकाले अभिनयमा निरन्तरता दिन सक्नेमा रङ्गकर्मीहरू सहमत छन् ।
प्रतिक्रिया