‘विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण आवश्यक’
काठमाडौं । नेपालमा विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरण निर्माण आवश्यक भएकामा जानकारहरुले जोड दिएका छन् ।
संसदीय अध्ययन तथा विकास संस्थापनद्वारा आज यहाँ आयोजित ‘चीन र भारतमा जापानको आधिकारिक विकास सहयोग र विदेशी लगानीः नेपालका लागि सीप र रणनीतिक अन्तरदृष्टि’ अन्तरक्रियामा वक्ताहरुले विदेशी लगानी भित्र्याउन लगानीमैत्री वातावरणको नयाँ दृष्टिकोणको आवश्यक भएको बताए ।
जापानको कोनान विश्वविद्यालयको व्यवस्थापन तथा नीति अध्ययन विभागमा प्राध्यापक मनोजलाल श्रेष्ठले नेपालमा जापानी लगानी प्रोत्साहन गर्न कानुनी र संस्थागत सुधारको आवश्यकता औँल्याए ।
उनले भने, ‘कानुनी राज्यको ह्रास देखिनु जापानी लगानीकर्ताका लागि अप्रिय हो, हामी लगानीका लागि ध्यान केन्द्रित गर्न सकिरहेका छैनौ । विकासका लागि अर्जुन दृष्टि चाहिन्छ ।’ प्राडा श्रेष्ठले ठूला अर्थतन्त्र भएका चीन र भारतको अर्थतन्त्रसँग नेपाललाई जोड्ने रणनीतिक र भरपर्दो लगानी गन्तव्यका रूपमा स्थापित गर्ने सकिने सम्भाबनाबारे चर्चा गरे ।
प्राडा श्रेष्ठले चीन र भारत दुवैले विगत दुई दशकदेखि जापान सरकारबाट प्राप्त गर्ने प्रत्यक्ष वैदेशिक लगानीमा आफ्नो ध्यान केन्द्रित गर्दै गरिरहेकोबारे पनि चर्चा गरे ।
संसदीय अध्ययन तथा विकास संस्थापनका अध्यक्ष दीपकुमार उपाध्यायले ‘बी टु बी’ लाई जोड दिँदै जापानी लगानीमार्फत नेपालले गुणस्तरीय कृषिजन्य उत्पादनलाई विश्वबजारमा पु¥याउन प्रयास थाल्नुपर्ने बताए ।
पूर्वमन्त्री एवं राजदूत समेत रहनुभएका उपाध्यायले हाइ भ्यालु भएका उत्पादनमा लगानी बढाउनुपर्नेमा जोड दिए । त्यसअवसरमा पूर्वमन्त्री भक्तबहादुर बलायरले सम्भावनायुक्त क्षेत्रमा विदेशी लगानी आवश्यक भएको बताए ।
प्रतिक्रिया