वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर अगाडि बढ्न आवश्यक छ : गभर्नर अधिकारी

नेपालखोज २०८१ चैत १६ गते १७:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

‘वित्तीय क्षेत्र एकदमै संवेदनशील छ । तर, कतिपयले यो संवेदनशीलता बुझ्दैनन्, त्यसले गर्दा नागरिकमा नकरात्मक धारणा पनि पैदा हुने गरेको छ,’ गभर्नर अधिकारीले भने, ‘तसर्थ, सञ्चार माध्यमले पनि सत्य र तथ्यमा आधारित भई समाचार सम्प्रेषण गर्नुपर्छ ।’

सही सूचना सम्प्रेषण होस् र गलत सूचना प्रवाह नहोस् भनेर केन्द्रीय बैंकले विविध कार्यक्रम गर्दै आएको उनको भनाइ छ । गभर्नर पदमा रहँदा सहज तथा असहज दुबै परिस्थितिमा सञ्चार माध्यमले सहयोग गरेको भन्दै उनले धन्यवाद पनि ज्ञापन गरे ।

उनले सही सूचना प्रवाह गरेको खण्डमा नागरिकले आवश्यकता अनुसार सही निर्णय लिने तथा योजना बनाउन सहयोग गर्ने बताए । अहिले सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो छोटो सामाग्रीले पनि बजारमा धेरै प्रभाव पार्ने भएकाले सही सूचना प्रवाह आवश्यक भएको बताए । अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रमा राष्ट्र बैंकका कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरेले वित्तीय क्षेत्र नागरिकको विश्वाससँग जोडिएको विषय भएको बताए ।

मुख्यतः आर्थिक पत्रकारको क्षमता अभिबृद्धि गर्ने यो कार्यक्रम सोमबारसम्म सञ्चालन हुनेछ । नाफिजकी अध्यक्ष मेनुका कार्कीले यस्ता कार्यक्रमले आर्थिक पत्रकार क्षमता अभिबृद्धि गर्न सहयोग पुगेको बताइन् । आगामी दिनमा पनि नाफिजले बिभिन्न सरोकारवाला निकायसँग मिलेर यस्तो कार्यक्रम आयोजना गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया