पत्रकारको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले पहल गर्ने

सुन्दरहरैँचा (मोरङ) । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतकुमार कार्कीले पत्रकारको सुरक्षा तथा क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरकारसँग समन्वय र पहल गर्ने प्रतिबद्वता व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले बुझाएको ज्ञापनपत्र बुझ्दै आज उनले काठमाडौंमा भएको हिंसात्मक आन्दोलन लोकतन्त्र माथिको प्रहार भएको बताए । पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले अपराधिक मनस्थितिबाट गरिएको आन्दोलनलाई सबैतिरबाट विरोध गर्नुपर्ने बताउँदै पत्रकारको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घले पत्रकारको सुरक्षाको माग गर्दै मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएको थियो । नेपाल पत्रकार महासङ्घ कोशीका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेशका अध्यक्ष भरत खड्का, जिल्ला अध्यक्ष सुशिला पाठकलगायतले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएका थिए ।
प्रतिक्रिया