महिला सशक्तीकरण र क्षमता अभिवृद्धिमा नबिल बैंक प्रतिबद्ध, मार्चमा ७ वटा कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले ’वुमन इन मोसन-एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ सोमबार काठमाडाैंमा उक्त कार्यक्रमको आयोजना गरेको बैंकले जानकारी दिएको छ ।
कार्यक्रमको उद्घाटन बैंकको स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीले गरेकी हुन । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर प्रदानका लागि बैंक प्रतिबद्ध रहेको बताएका छन् । उनले बैंकिङ क्षेत्रमा महिलाका लागि केही अप्ठ्यारा भए पनि त्यसलाई समाधान गर्दै अघि बढ्नुको विकल्प नरहेको बताए ।
पौडेलले विश्वको इतिहास हेर्दा पनि महिलालाई पुरुषको तुलनामा कम पारिश्रमिक दिने गरेको उल्लेख गर्दै पछिल्लो समय भने यो परिवर्तन भइरहेको बताए । उनले आर्थिक विकासमा महिलाको सहभागिताको महत्त्वलाई बुझ्दै समाजमा लामो समयदेखि रहेको असमानताको अवशेषलाई हटाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको नेतृत्व बढाउन जरुरी रहेकामा जोड दिए । उनले बैंकिङ क्षेत्रको नेतृत्वमा अझै पनि महिलाको प्रतिनिधित्व कम भएको उल्लेख गर्दै यस प्रकारका कार्यक्रमले महिला सहभागिता बढाउन र उत्प्रेणाका लागि महत्त्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गरे ।
सुशासनको क्षेत्रमा पनि पुरुषको तुलनामा महिला बढी सक्षम भएको उल्लेख गर्दै ज्ञवालीले बैंकबाट खराब काम गरी निष्कासित हुनेमा महिलाको संख्या नगन्य भएको बताए । कर्मचारीमा महिलाको संख्या उल्लेख्य रूपमा कायम गर्न नबिल बैंक सक्षम भएको उनले बताए । कार्यक्रमकी प्रमुख अतिथि तथा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले नबिल बैंकले आयोजना गरेको कार्यक्रम लैंगिक समानता कायमको लक्ष्यप्राप्तिमा महत्वपूर्ण पहल भएको बताइन् ।
कार्यक्रममा ’द सि-सिफ्ट: नेभिगेटिङ ब्यारियर्स एण्ड क्याटलाइजिङ लिडरसीप’ शीर्षकको समूहगत छलफलका क्रममा वक्ताहरूले महिलाहरूले पनि विभिन्न क्षेत्रको नेतृत्व लिन सक्ने र त्यसका लागि योग्य भएकामा जोड दिए । कार्यक्रममा नबिलका उच्चपदाधिकारीका साथ दुई सयभन्दा बढी महिला तथा पुरुष कर्मचारीको सहभागिता थियो । नबिल बैंकले यसबाहेक पनि महिलाका विषयलाई केन्द्रित गरी मार्च महिनाभर विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ ।
बैंकले लैंगिक समानता प्रवद्र्धन, महिला सशक्तीकरण, जनचेनता अभिवृद्धि, व्यक्तिगत क्षमता अभिवृद्धि र सहयोगी समुदाय निर्माणको उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ । बैंकले आयोजना गरेको मार्च इन टु वेलनेस कार्यक्रमबाट काठमाडौं उपत्यका र बाहिरका गरी ३५ महिला कर्मचारी लाभान्वित भएका थिए भने वेलविइङ अफ वुमन सेसनमार्फत उपत्यकामा कार्यरत १०० महिला कर्मचारीले लाभ लिएका थिए ।
बैंकले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा देशव्यापी वृहत्त र्याली आयोजना गरेको थियो। जसमा नबिल बैंकका मुलुकभर रहेको विभिन्न शाखामा कार्यरत एक हजार २०० सयभन्दा बढी कर्मचारीको सहभागिता थियो । बैंकले कार्यस्थलमा हुने हिंसाजन्य गतिविधि र रोकथामका उपायका सम्बन्धमा कोशी प्रदेशमा ६८ जना महिला कर्मचारी सम्मिलित कार्यक्रम आयोजना गरेको थियो। साथै मधेस प्रदेशमा सुरक्षित र मर्यादित कार्यस्थल शीर्षकको कार्यक्रम आयोजना गरी ५० जना कर्मचारीलाई अभिवृद्धि गरेको थियो ।
साथै नबिलले बैंकमा कार्यरत सबै कर्मचारीलाई लक्षित गरी रजस्वलाको विषय र चुनौतीका सम्बन्धमा कार्यक्रम आयोजना गरेको थियो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया