नेपालको अर्थतन्त्र आर्थिक आघातका बाबजुद उत्थानशील रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । नेपालको अर्थतन्त्र आर्थिक आघातका बाबजुद उत्थानशील रहने विश्व बैंकको प्रक्षेपण रहेको छ । आर्थिक वर्ष २०२४/२५ मा नेपालको अर्थतन्त्र चार दशमलव पाँच प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ, जुन अघिल्लो आर्थिक वर्ष २०२३/२४ को दर तीन दशमलव नौं प्रतिशतको तुलनामा बढी हो, यद्यपि सन् २०२४ को अन्त्यतिर ठूला प्राकृतिक विपत्ति घटेका थिए ।
विश्व बैंकद्वारा बिहिबार सार्वजनिक नेपाल विकास प्रतिवेदन : आर्थिक वृद्धि उकास्नका लागि उत्थानशीलताको लाभ उपयोग तथा सुधार कार्यान्वयन अनुसार, यो वृद्धि मुख्यतः आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिबाट निर्धारित हुनेछ । प्रतिवेदनले सन् २०२५/२६ र २०२६/२७ मा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ, जसमा सेवा क्षेत्रको प्रभाव उल्लेख्य रहनेछ ।
‘नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ । यसलाई हासिल गर्नका लागि नेपालले आफ्नै उत्थानशीलत वृद्धिको प्रभावशाली इतिहासको जगमा प्रमुख संरचनागत सुधार कार्यान्वयन गर्न आवश्यक छ,’ विश्व बैंकका माल्दिभ्स, नेपाल, र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने ।
प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिम (अपेक्षित प्रतिफल कम भएर लगानी ह्रास)लाई पनि औंल्याएको छ, जसमा भू-राजनीतिक र व्यापारसम्बन्धी अनिश्चितता समावेश छन् । यसले नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावनाका साथै सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि उल्लेख गरेको छ ।
नेपाल डेभलपमेन्ट अपडेट वर्षमा दुईपटक प्रकाशित हुने प्रतिवेदन हो, जसले अघिल्लो वर्षका प्रमुख आर्थिक घटनाक्रमलाई दीर्घकालीन विश्वव्यापी सन्दर्भमा राखेर विस्तृत विश्लेषण प्रदान गर्दछ ।

प्रतिक्रिया