शुक्रबार, वैशाख १२, २०८२

जलविद्युत्को कामले स्थानीय र पर्यटकलाई सास्ती

नेपालखोज २०८१ चैत २० गते १४:४७

मनाङ । जिल्लाको नासोँ गाउँपालिका–९ दानाक्युमा एक सय ३५ मेगावाट क्षमताको निर्माणाधीन मनाङ-मर्स्याङ्दी जलविद्युत् आयोजनाका कारण स्थानीय र पर्यटकले सास्ती भाग्नुपरेको छ ।

जलविद्युत्को टनेल, सुरुङ निर्माण तीव्र रूपमा सञ्चालन भइरहेको अवस्थामा ‘बमब्लाष्टिङ’ र ठूला सवारीसाधनको प्रयोगले स्थानीय तथा पर्यटकलाई समस्या हुँदै आएको हो ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले यो समय विश्वका पर्यटकको आगमन हुने गर्दछ । बिना जानकारी आयोजना निर्माणस्थलमा बमब्लाष्टिङ गरिँदा पैदलयात्रामार्फत यहाँ आउने पर्यटक तर्सने गरेका छन् । आयोजना निर्माण क्षेत्रमा पर्ने स्थान भएर आउने पर्यटकले ठूला सवारीसाधनबाट निस्कने धूलोले सास्ती हुने गुनासो गरेका छन् । यसले पर्यटकीय सिजन सुरु भएको अवस्थामा पर्यटक आगमनमा असर गर्ने व्यवसायीको भनाइ छ ।

बस्ती व्यवस्थापन बिना आयोजनाले बमब्लाष्टिङको काम गर्दा स्थानीयको घर चर्किने र तर्सिने गरेको चामे गाउँपालिका–३ का वडाध्यक्ष विनोद लामाले गुनासो गरे । आयोजनाले बस्तीको व्यवस्थापन नगरी कामलाई तीव्रता दिएपछि स्थानीयको गुनासो बढी आइरहेको छ । कतिपयले बमब्लाष्टिङ गर्दा घर चर्किएको जानकारी दिएका छन्, उनले भने ।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको गुनासो आयोजनाले सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले भने, स्थानीयको गुनासो आयोजनाले सम्बोधन नगरी अघि बढ्न आग्रह गर्दछौँ । स्थानीय र पर्यटकको सुरक्षालाई मध्यनजरमा राखी सुनुवाइका लागि दबाब दिइरहेका छौँ । यो आयोजना पनि मनाङवासीको भएकाले बस्तीलाई सुरक्षित बनाउनेतर्फ योजनाबद्ध काम गर्न उहाँले आयोजना कार्यालयलाई आग्रह गरे ।

बुटवल पावर कम्पनीका सहायक निर्देशक एवं मनाङ(मर्स्याङ्दी जलविद्युत् आयोजनाका उपमहाप्रबन्धक प्रतिकमान सिंहप्रधानले यहाँको मौसमअनुसार यो समय आयोजनाको काम गर्ने उपयुक्त भएकाले तीव्रता दिइएको बताए ।

उनले भने, काम गर्ने समय उपयुक्त र पर्यटक आगमनको पनि यही समय उपयुक्त भएकाले केही समस्या भएको हो । समस्या समाधान गर्न समन्वय तथा गुनासो सम्बोधन गर्दै अगाडि बढ्ने छौँ ।

ठूलो आयोजना भएकाले यहाँ उपयोग हुने स्रोतसाधन पनि ठूला हुने भन्दै शान्त रहेका स्थानमा केही समस्या आएको उपमहाप्रबन्धक प्रधानले स्वीकारे । उनले भने, आगामी दिनमा समन्वयमार्फत स्थानीय र पर्यटकलाई सहज बनाउने गरी काम गर्नेछौँ ।

स्वच्छ, शान्त भनेर चिनिएको मनाङमा पर्यटक आवागमनका समयमा बमब्लाष्टिङ, धुलोले समस्या निम्त्याउन थालेपछि पर्यटकको सङ्ख्यामा कमी आउने जोखिम बढेको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाको मुख्य आयका रूपमा रहेको पर्यटन व्यवसायलाई सहज बनाउने गरी निर्माण गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

आयोजनाको बाध (ड्याम), मेसिनरी पर्खाल, सडक विस्तारको काम भइरहेको छ, यहाँको मौसमअनुसार सम्झौतामा तोकिएको समयमा सम्पन्न गर्ने उद्देश्यले कामलाई तीव्रता दिइरहेका छौँ, प्रधानले भने । आयोजनालाई निर्धारित समयमा सम्पन्न गरी मनाङलाई उज्यालो बनाउन सहयोग पुर्‍याउने लक्ष्य आयोजनाको रहेको उनले बताए ।

चामे–३ कोतोमा बाध (ड्याम) निर्माण भइरहेको उपमहाप्रबन्धक प्रधानले जानकारी दिए । उनका अनुसार सुरुङ खन्ने, पावर हाउस, सडक निर्माणलगायत काम भइरहेका छन् । नासोँ गाउँपालिका–८ र ९ मा पावर हाउस र सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । चामे गाउँपालिका–१, २ र ३ तथा नासोँ गाउँपालिका–९ र ८ नम्बर वडामा पर्नेगरी निर्माणाधीन आयोजना सम्पन्न हुनेछ ।

प्रतिक्रिया