संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्य : गृहमन्त्री लेखक

नेपालखोज २०८१ चैत २१ गते १८:५६

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अराजकतामार्फत संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यका साथ पूर्वराजाका समर्थकले तीनकुनेमा हिंस्रक घटना घटाएको बताएका छन् ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताए । उनले आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माणमा सरकार थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले यस्ता कार्य अक्षम्य र भत्र्सनायोग्य रहेको उल्लेख गर्दै यसको जिम्मा आयोजक र संलग्नले लिनुपर्ने बताए । लोकतन्त्र मास्न खोज्नेको पहिलो निशानामा सञ्चार जगत् रहन्छ भन्ने कुरा खोजीखोजी सञ्चार गृहमा भएको आक्रमणबाट समेत पुष्टि हुने बताउँदै उनले सरकारले सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाए ।

कार्यक्रमस्थलबाट अगुवा भनिएका व्यक्तिहरूले नै भीडलाई उत्तेजित बनाउनेगरी सबै साथीहरू परपर बसेर हेर्ने होइन, अगाडि बढ्नोस्, संसद् भवनलाई इङ्गित गर्दै बानेश्वरतर्फ अगाडि बढ्नुहोस्जस्ता निर्देशन दिएपछि अनियन्त्रित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रूपमा पटकपटक सचेत गराएको लेखकको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणासहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिँदै मन्त्री लेखकले जसमध्ये ६६ जनामाथि जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको र अन्य ८९ जनालाई परिवार एवं आफन्तको जिम्मा लगाएर छाडिएको बताए ।

प्रतिक्रिया