‘अहिलेको मिन मार्ट, उहिले मिनबहादुर शेरचनको पसल’

काठमाडौं । पोखरामा केही ब्यापारीक प्रतिष्ठानका धेरै वटा पसलहरु खोल्ने क्रम बढेको देखिन्छ । सेलवेजको नाममा शुरु भएको सानो ब्यापारिक पसल अहिले पोखरा र काठमाडौ वरपर गरेर थुप्रै पसल (आउटलेट) खुलेका छन् ।
त्यस्तै अर्को नाम मिन मार्ट पनि पोखराको बिभिन्न क्षेत्रमा बिस्तार हुँदैछ । हुन त मिन मार्ट नाम अहिले तेश्रो पुस्तामा आएपछि शुरु भएको हो । तर पहिले मिनबहादुर शेरचन नामबाट मिनबहादुर शेरचनले नै २०२२ सालतिर मोहरिया टोलमा शुरु गर्नुभएको थियो ।
हामी त्यहि नजिकै जन्मिएर हुर्किएको हुँदा मिनबहादुर काकाको पसल बारे राम्रो जानकारी छ । पोखराको स्थानीय भन्दा पनि पोखरा देखि उत्तर तर्फ रहेको घोडेपानी, नयाँपुल, जोमसोम, मार्फा लगायत बिभिन्न गाउँ ठाउँमा खच्चरबाट सामान लैजानेहरु अत्यधिक देखिन्थ्यो । वहाँको पसलको पिँढी भरि प्राय खच्चरहरु बोराहरु बाँध्न लाइनै हुन्थे । पछि वहाँका छोराहरु सरोज र दिपकले पनि उस्तै ब्यबसाय सञ्चालन गरेका थिए ।
९० सालको महाभूकम्प भन्दा केही महिना अगाडि जन्मनु भएका मिनबहादुर काका अचेल बुढ्यौलीमा भने आफ्नो समय ब्यतित गर्न धनुषखेलमा ब्यस्त राख्नु भएको देखिन्छ । ९२ वर्ष उमेरले पुगे तापनि वहाँको जोश र जाँगर युवाहरु जत्तिकै रहेको देखिन्छ । त्यो बेलाको मिनबहादुर शेरचन स्टोर भने अहिले तेश्रो पुस्ताका नाति दिशान्त शेरचनले सञ्चालन गरेर मिन मार्ट नाम दिएका छन् । ६ दशकको ब्यापारमा केही परिवर्तन भएको भने पक्कै भएको छ ।
जापानी लेखक मिचियुकि अदाचीले ‘नेपालः क्रसिङ द अनएक्सप्लोरर रेजियन ग्रेट हिमालयन साल्ट रोड जर्नी’ का लागि खिचेको फिल्मको सानो अंश हो । यो यात्रा फिल्ममा काठमाडौ देखि जोमसोमसम्मको यात्रा खिचिएको छ । यो फिल्मको छायांकन कहिले गरियो भन्ने स्पष्ट उल्लेख गरिएको नभए पनि अनुमानत २०३४-३५ सालतिर खिचिएको हो कि भन्ने अनुमान गरेको छु । यस फिल्ममा मोहरिया संगमचोक देखि खच्चर हिडिरहेको तथा मिनबहादुर काकाको पसल अगाडि भारी बाँध्दै गरेको देख्न सकिन्छ ।

प्रतिक्रिया