चीनसँगको व्यापार घाटा घटाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनसँगको व्यापारमा नेपालको ठूलो व्यापार घाटा रहेकाले घटाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घको २५औँ वार्षिक साधारणसभा तथा रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले यसलाई कम गर्न नेपाली उत्पादनको निर्यात बढाउनु अत्यावश्यक रहेको र जडीबुटी, हस्तकला, कृषि उत्पादन, तयारी पोसाक जस्ता क्षेत्रमा विशेष जोड दिनुपर्ने बताए ।
मन्त्री भण्डारीले नेपाल सरकारले नेपाल-चीन व्यापारलाई सहज बनाउन तातोपानी र रसुवागढी नाकाको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको, चीनसँगको व्यापारलाई सहज बनाउन ‘नेपाल-चीन व्यापार सहजीकरण समिति’ गठन गरेको, सीमापार व्यापारलाई सहज बनाउन विद्युतीय भुक्तानी प्रणालीलाई प्रोत्साहन गरेको, रसुवागढी-केरुङ नाकामा सुक्खा बन्दरगाह निर्माणको कार्य अघि बढाएको, ‘एक स्टेसन, एक उत्पादन’ कार्यक्रममार्फत स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको र नेपाली उत्पादनहरूको गुणस्तर सुधारका लागि प्राविधिक सहयोग प्रदान गरेको जानकारी दिए ।
यस्तै उनले कोरला, हिल्सा, किमाथाङ्का, ओलाङचुङगोला जस्ता नाकाको विकासका लागि पनि सरकारले कार्ययोजना तयार पारेको बताए । मन्त्री भण्डारीले सङ्घले स्थापनाकालदेखि वर्तमानसम्मको यात्रा तय गरेर यहाँसम्म आइपुग्दा नेपाल-चीन द्विपक्षीय व्यापार अभिवृद्धि, जनसमुदायबीचको सम्बन्ध सुदृढीकरण तथा औद्योगिक सम्बन्ध प्रवद्र्धनमा अतुलनीय योगदान प्रदान गर्दै आएको बताए ।
सरकारी निकायसँगको समन्वयमा वाणिज्य कूटनीतिलाई बढावा दिन सङ्घले महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री भण्डारीको भनाइ थियो । चीनका विभिन्न प्रान्त र सहरमा नेपाली उत्पादनको पहुँच बढाउन व्यापारिक ‘मिसन’, प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रम आयोजना गर्न सकिने उनले बताए ।

प्रतिक्रिया