सोमबार, वैशाख २९, २०८२

इरानका उच्च कूटनीतिज्ञद्वारा अमेरिकासँगको प्रत्यक्ष वार्ता अस्वीकार

नेपालखोज २०८१ चैत २३ गते १३:५९

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सिधा वार्ता गर्न चाहेको बताइरहेका समय इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार अमेरिकासँगको प्रत्यक्ष वार्तालाई ‘अर्थहीन’ भन्दै यस्तो सम्भावनालाई अस्वीकार गरेका छन् ।

ट्रम्पले गत महिना तेहरानलाई वासिङ्टनसँग आफ्नो आणविक कार्यक्रमबारे वार्ता गर्न आह्वान गरेका थिए । उनले कूटनीति असफल भएमा इरानमाथि आक्रमण गर्ने चेतावनी दिएका थिए ।

बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग ‘सिधा वार्ता’ गर्न चाहेको बताएका थिए ।

‘इरान सबै सम्भावित गतिविधि वा घटनाका लागि तयार रहन्छ र जसरी यो कूटनीति र वार्तामा गम्भीर छ, त्यसरी नै उसले आफ्नो राष्ट्रिय हित र सार्वभौमिकताको रक्षामा पनि निर्णायक र गम्भीर हुनेछ,’ अराघचीले भने ।

शनिबार इरानी राष्ट्रपति मसूद पेजेशकियानले आफ्नो देश अमेरिकासँग समान स्तरमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

उनले वार्ताका लागि आह्वान गर्ने वासिङ्टनको इमान्दारितामाथि पनि प्रश्न उठाउँदै भने, ‘यदि तपाईं वार्ता चाहनुहुन्छ भने धम्की दिनुको अर्थ के हो ?’

प्रतिक्रिया