शनिबार, वैशाख १३, २०८२

चीन भन्छ- अमेरिकी करले गरिब राष्ट्रलाई गम्भीर क्षति पुर्‍याउँछ

नेपालखोज २०८१ चैत २९ गते १८:४४

बेइजिङ । चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओले विश्व व्यापार सङ्गठन (डब्लुटिओ)का प्रमुखलाई अमेरिकी करवृद्धिले गरिब राष्ट्रलाई ‘गम्भीर क्षति’ पुर्‍याउने बताएका छन् ।

वासिङ्टन र बेइजिङले यो महिना एक आपसमा अतिरिक्त कर लगाउने घोषणा गरिरहेका छन् । यसै शिलशिलामा अहिलेसम्म अमेरिकाले चिनियाँ सामानको आयातमा १४५ प्रतिशत अतिरिक्त कर लगाएको छ भने बदलामा चीनले अमेरिकी सामानको आयातमा १२५ प्रतिशत कर लगाएको छ ।

यसले विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच व्यापार युद्ध चर्किने डर बढाएको छ जसको प्रत्यक्ष असर विश्वको शेयर बजारमा परेको र यसले सेयर कारोबारलाई अस्तव्यस्त बनाएको छ ।

अर्थशास्त्रीहरूले अमेरिका र चिनियाँ अर्थतन्त्रबीचको व्यापारमा आएको अवरोधले उपभोक्ताका लागि मूल्य वृद्धि हुने र यसले विश्वव्यापी मन्दी निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

बेइजिङले शुक्रबार अमेरिकी सामानमा लगाएको १२५ प्रतिशत कर शनिबारदेखि लागू हुने बताएको छ, जुन वासिङ्टनले अमेरिका प्रवेश गर्ने चिनियाँ सामानमा लगाएको १४५ प्रतिशत करसँग मिल्दोजुल्दो छ ।

चीनले विश्व व्यापार सङ्गठन (डब्लुटिओ)मा मुद्दा दायर गर्ने बताएको छ र ट्रम्पको गलत कर नीतिलाई ‘मजाक’ र ‘सङ्ख्याको खेल’ को संज्ञा दिएको छ ।

बेइजिङको प्रतिशोधले बजारमा नयाँ उतारचढाव निम्त्याएको, स्टकमा गिरावट आएको, सुनको मूल्यमा वृद्धि भएको र अमेरिकी सरकारी ऋणपत्रहरू दबाबमा परेको बताइएको छ ।

बेइजिङको भन्सार तथ्याङ्कअनुसार गत वर्ष संयुक्त राज्य अमेरिकालाई चिनियाँ सामानको बिक्री ५०० अर्ब डलरभन्दा बढी थियो, जुन देशको निर्यातको १६.४ प्रतिशत हो । ट्रम्पले चीनबाट नयाँ वृद्धि भए पनि आफ्नो कर नीतिले ‘वास्तवमै राम्रो काम गरिरहेको’ बताएका छन् ।

यसै साताको सुरुमा घोषणा गरिएको अमेरिकी कर वृद्धिका कारण विश्व बजारमा खर्बौँ डलर घाटामा गएपछि राष्ट्रपति ट्रम्पले तीन महिनाका लागि धेरै व्यापार साझेदारहरूमाथिको दण्डात्मक कर स्थगित गरेका छन् ।

ह्वाइट हाउसले ट्रम्प बेइजिङसँगको सम्झौताप्रति ‘आशावादी’ रहेको र अन्य १५ देशले ९० दिनको कर कटौतीका क्रममा प्रस्ताव ‘टेबलमा’ ल्याएको जनाएको छ । रासस/एएफपी

प्रतिक्रिया