शनिबार, वैशाख १३, २०८२

इरान र संयुक्त राज्य अमेरिकाबीचको आणविक वार्ता अघि बढ्ने सङ्केत

नेपालखोज २०८१ चैत ३० गते १५:०५

मस्कट, ओमान । ओमानको मध्यस्थतामा इरान र संयुक्त राज्य अमेरिकाबीच शनिबार अप्रत्यक्षरूपमा भएको वार्ताले आगामी थप वार्ताका लागि वातावरण बनेको वार्तामा संलग्न दुवै पक्षले बताएका छन् । ओमानको राजधानी मस्कटमा दुई देशका प्रतिनिधिमण्डलबीच मध्यस्थ ओमानी कुटनीतिज्ञको सहयोगमा अप्रत्यक्ष वार्ता भएको थियो ।

इरानको आणविक कार्यक्रमलाई लिएर सन् २०१८ यता दुई देशबीच भएको यो उच्चस्तरीय बैठक हो । दुवै देशले पहिलो चरणको बैठकलाई ‘रचनात्मक’ भनेका छन् । अर्को साता दोस्रो चरणको छलफल हुनेछ । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ ह्विटकोफले गरेका थिए । इरानी प्रतिनिधिमण्डलको नेतृत्व इरानी विदेशमन्त्री अब्बास अराघचीले गरेका थिए ।

ओमानका विदेशमन्त्री बद्र बिन हमाद अल बुसैदीमार्फत दुवै देशका प्रतिनिधिलाई सन्देश पठाइएको थियो । यद्यपि, बुसाईदीको उपस्थितिमा अराघची र विटकोफले केही मिनेट प्रत्यक्ष कुराकानी पनि भएको थियो ।

मेरो विचारमा, पहिलो बैठकको रूपमा, यो एक रचनात्मक बैठक थियो जुन धेरै शान्तिपूर्ण र सम्मानजनक वातावरणमा भएको थियो, किनकि वार्तामा एक अर्कालाई अपमानित गर्ने खालको कुनै अनुचित भाषा प्रयोग गरिएको थिएन, अब्बास अराघचीले वार्तापछि इरानी सरकारी टिभीसँग भने ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ता निकै सकारात्मक र रचनात्मक रहेको छ । इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता ‘अर्को हप्ता’ पनि जारी राख्ने बताएको छ ।

प्रतिक्रिया