अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं । काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ६ किलो ९ सय ७० ग्राम सहित भारतीय नागरिक २७ वर्षीय Vishak Vijayan सोमबार राति पक्राउ परेका छन् । थाई एयरको उडानद्वारा बैंकक हुँदै नेपाल आएका उनलाई विमानस्थलको टनेल गेटमा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ र १६ को सिमानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ५ ट्याब्लेट र स्पास्पेन २ सय ५ ट्याब्लेट सहित सोही उपमहानगरपालिका–१९ बस्ने ३३ वर्षीय सुमन राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १२ किलोग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमफेदी गाउँपालिका–९ कुरले बस्ने २४ वर्षीय कमल प्रजा र कैलाश गाउँपालिका–१० बेतिघारी बस्ने २९ वर्षीया सुमित्रा प्रजा रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.७ ख १५८७ नम्बरको गाडी जाँच गर्ने क्रममा गाडीमा सवार कमललाई ६ किलोग्राम र सुमित्रालाई ६ किलोग्राम गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका–३ बुटाबारीबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका ३९ वर्षीय कुलदिप सिंह र ६० वर्षीय बेचनलाल पाशमान रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी २६ एडब्लु ३१८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो
महोत्तरीको बर्दिबास नगरपालिका–१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम सहित बर्दिबास नगरपालिका–११ खयरमारा घर भई सोही नगरपालिका–१४ डेरा गरी बस्ने २६ वर्षीय कुबेर जंग रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
लमजुङको बेसीशहर नगरपालिका–३ रानिकुवा बस्ने २२ वर्षीय अर्जुन सेन्चुरीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३७ ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका–१ सानो डाँफेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ८० मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ३३ ट्याब्लेट सहित सोही गाउँपालिका–१ शान्तिपुर बस्ने २२ वर्षीय पूर्ण बहादुर सिंह ठकुरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया