विश्वविद्यालयका कर्मचारीलाई प्रशासनिक क्षमता विकास तालिम

गण्डकी । पोखरा विश्वविद्यालयको आयोजनामा विश्वविद्यालयमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि तथा व्यवस्थापनसम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ एक साता लामो प्रशासनिक क्षमता विकास तालिम दिइएको छ ।
विश्वविद्यालय अनुदान आयोग नेपालको सहकार्यमा सञ्चालित तालिममा विश्वविद्यालयका विभिन्न निकायमा कार्यरत ३३ जना लेखा तथा प्रशासन शाखाका अधिकृतदेखि सहायकस्तरसम्मका कर्मचारीहरू सहभागी थिए ।
तालिममा विश्वविद्यालय प्रशासनसँग सम्बन्धित विभिन्न व्यावहारिक र प्रविधिमैत्री विषयमा प्रशिक्षण प्रदान गरिएको विश्वविद्यलायका सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी दिए ।
उक्त अवसरमा विश्वविद्यालयका कर्मचारीको प्रमुख कार्य र जिम्मेवारी बजेट र लेखा प्रणाली, सार्वजनिक खरिद प्रक्रिया, दस्तावेज तयार गर्ने तरिका, एआइ प्रविधिको प्रयोग, एमएस एक्सेल र पावर पोइन्टको प्रयोग, कार्यालय व्यवहारलगायत विषयमा तालिम दिइएको थियो ।
त्यस्तै कर्मचारी प्रोत्साहन, अन्तरव्यक्तिगत सम्बन्ध व्यवस्थापन, मानसिक स्वास्थ्य, कार्यालय प्रशासन, माइन्युट लेखन, पत्राचार, विन्डोज युटिलिटी र तालिका तथा डेटासेट निर्माणलगायत विषयमा दक्ष प्रशिक्षकहरूबाट सत्रहरू सञ्चालन गरिएका थिए ।
तालिमको समापन समारोहमा स्वास्थ्य विज्ञान सङ्कायका डीन तथा निमित्त उपकुलपति सह प्रा डा अमर नागिलाले तालिम समसामयिक र अत्यन्तै उपयोगी विषयमा केन्द्रित भएको बताउँदै सप्ताहव्यापी रुपमा सहभागीले सिक्न, बुझ्न र अनुभव साटासाट गर्न महत्वपूर्ण अवसर पाएको बताए ।
विश्वविद्यालय जस्तो ज्ञान केन्द्रमा कार्यरत कर्मचारीलाई सूचना प्रविधि र व्यवस्थापनसम्बन्धी दक्षता आवश्यक भएको र एआइको युगमा म्यानुअल कामले पछि पार्ने भएकाले सिकेको ज्ञान व्यवहारमा उतार्न उनले आग्रह गरे ।
व्यवस्थापन सङ्कायका डीन तथा निमित्त रजिष्ट्रार सह–प्रा डा दयाराज ढकालले तालिमको समग्र व्यवस्थापन र सहभागीहरूको सिक्ने उत्साहलाई महत्वपूर्ण रहेको बताउँदै तालिमबाट प्राप्त ज्ञान र सीपलाई कार्यस्थलमा प्रयोग गरी अझ दक्ष र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
प्रशासनिक क्षमता विकास तालिम समितिका संयोजक सह–प्रा डा पूर्णबहादुर खाँडले तालिम सफल बनाउन समूहगत कार्यमा आधारित भएर भरमग्दुर प्रयास गरिएको बताए ।
तालिम व्यवस्थापन समितिका सदस्य उपप्राध्यापक डा बद्री अर्याल, सहप्रशासक तारादेवी सापकोटा, प्रशिक्षार्थी तोरणबहादुर विक, तालिम व्यवस्थापन समिति सह प्रा डा पूर्णबहादुर खाँडलगायतले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गरे । रासस
प्रतिक्रिया