शुक्रबार, वैशाख १२, २०८२

‘इसा अन्तर्राष्ट्रिय अवार्ड’को दुई विधामा मनोनयन

नेपालखोज २०८२ वैशाख ४ गते ५:३६

काठमाडौं । ‘इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा)’ ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तरराष्ट्रिय अवार्ड’ को सातौँ संस्करणको दुई विधामा मनोनयन गरिएको छ । यी दुवै मनोनयनमा गीतकार लोकराज अधिकारी परेका छन् ।

मनोनयनमा नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका हुन् । यो मनोनयन आफ्नो मात्र नभई नेपालकै प्रतिनिधित्व भएको गीतकार अधिकारीले बताए ।

उनले भने, ‘म नेपालबाट एक्लो मनोनयनमा परेको छु, त्यसकारण मैले देशकै प्रतिनिधित्व गरेको महसुस भएको छ । उक्त अवार्डको सार्वजनिक मनोनयनमा अन्य देशसँगै नेपालको झन्डा देख्दा आफूले केही गरेको जस्तो महसुस भएको छ ।’

अधिकारी लगातार दोस्रो वर्ष नेपालबाट मनोनयनमा परेका हुन् । उनले उक्त अवार्डमा अमेरिकाको २१ विधा र अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत प्रतिस्पर्धा हुने जानकारी दिए । गीतकार विधामा उहाँसँगै ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेका छन् । गीतकार अधिकारीले गत चैत २० देखि नै ‘इलेकट्रोनिक भोटिङ’ खुला भएको र वैशाख २० गतेसम्म भोट गर्न पाइने बताए ।

गीतकार अधिकारीले एउटा ‘डिभाइस’ बाट दैनिक एकपटक भोट गर्न सकिने जानकारी दिए । उनी मनोनयनमा परेका गीत ‘जिन्दगानी के छ र’ मा सिडी अधिकारीले सङ्गीत र स्वर दिनुभएको छभने यसको ‘म्युजिक भिडिओ’ लाई बबिता श्रेष्ठले निर्देशन गरेका छन् ।

आगामी भदौ ८ गते अमेरिकास्थित एटलान्टामा सम्पन्न हुने उक्त अवार्डमा ‘इसा’ का सदस्य गीतकार मात्र प्रतिस्पर्धामा भाग लिन पाउँछन् ।

गीतकार अधिकारी उक्त संस्थामा तीन वर्षअगाडि सन् २०२२ मा सदस्य बनेका थिए । गीतकार अधिकारीले रचना गर्नुभएका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ लगायतका गीत लोकप्रिय छन् । रासस

प्रतिक्रिया