शुक्रबार, वैशाख १४, २०८१

एआई सम्बन्धी कडा कानुनको खोजीमा

नेपालखोज २०८० जेठ २४ गते १०:४६

काठमाडौं । अष्ट्रेलियामा आर्टिफिसियल इन्टेलिजेन्सका सम्बन्धमा कडा र कडा कानुन बनाउने तयारी भैरहेको छ । उक्त कानून अन्तर्गत नक्कली सामग्री सिर्जना गर्ने प्रविधिहरूमा प्रतिबन्ध लगाउन पनि सम्भव छ।

अहिले एआईलाई लिएस विश्वभर चिन्ता बढिरहेको छ । ट्विटरका मालिक एलोन मस्क तथा गुगलका सीईओ लगायत प्राविधिक क्षेत्रका सबैभन्दा शक्तिशाली व्यक्तिहरूले एआईका बारेमा चेतावनी दिइरहेका भने सरकारहरूले कसरी मानिसहरूलाई आर्टिफिशियल इन्टेलिजेन्सको साइड इफेक्टबाट जोगाउने भन्ने बिषयमा विचार गरिरहेका छन्। यद्यपि कृतिम बुद्धिमत्ताको प्राविधिक विकासका फाइदा पनि छन ।

अष्ट्रेलियाका उद्योग तथा विज्ञान मन्त्री एड हसिकले एबीसी टिभीलाई भने, ‘प्रविधिले मानिसलाई उछिनेको समाज चिन्ताको विषय हो।’

अष्ट्रेलियाको नेशनल काउन्सिल अफ साइन्स एन्ड टेक्नोलोजीले एक रिपोर्ट जारी गरेको छ जसमा भनिएको छ – एआई द्वारा उत्पन्न सामग्री धेरै दृष्टिले हानिकारक हुन सक्छ। उदाहरण दिँदै काउन्सिलले कुनै विषयमा जनमत खोज्दा एआई मार्फत नक्कली जनमत दर्ता गर्न सकिने बताएको छ ।

यो खतरा पहिचान गर्न र सीमा तोक्न सरकारहरूको स्पष्ट भूमिका छ । २०१८ मा स्वेच्छिक व्यवहार मार्गनिर्देशन अपनाउने र एआईलाई नियमन गर्ने संसारको पहिलो देशहरू मध्ये अष्ट्रेलिया पनि थियो ।

मन्त्री हसिकले अहिले भएका प्रतिलिपि अधिकार, गोपनीयता र उपभोक्ता संरक्षण जस्ता मुद्दाहरूमा बनेका कानूनहरू एआईसँग सम्बन्धित मुद्दाका लागि अपर्याप्त हुने बताउँदै सरकारले यी सबै मुद्दाका लागि उपयुक्त कानूनी रूपरेखा बनाउन चाहेको उल्लेख गरेका छन ।

हसिकले भने – यदि जनताबाट माग आए अष्ट्रेलियाले पनि एआईका यस्ता तत्वहरू माथि प्रतिबन्ध लगाउन सक्छ ।

युरोपेली संघ र अमेरिकामा पनि विचार

अष्ट्रेलियामा यो छलफल चलिरहेको बेला इयु र युएसले स्वेच्छिक एआई अभ्यास गाइड बनाएका छन् र यसलाई उद्योगहरुले अपनाउने आशा गरेका छन्। यससँगै, युरोपेली सांसदहरूले पनि एआईसँग सम्बन्धित सबै कानूनी चुनौतीहरू समेट्न सक्ने बृहत् कानूनको मस्यौदा तयार गर्दैछन्।

युरोपेली संघ तथा अमेरिकी अधिकारीहरूले चाँडै नै आचारसंहिता जारी गर्ने बताएका छन्। स्वीडेनमा युरोपेली संघका नेताहरूसँगको वार्तापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पश्चिमा राष्ट्रहरूले यस विषयमा तत्काल कदम चाल्नुपर्ने आवश्यकता बुझेको र समान विचारधारा भएका देशहरू मिलेर काम गर्न चाहेको बताएका थिए ।

ब्लिन्केनले भनेका छन् ‘जब – जब नयाँ प्रविधि आउँछ त्यसलाई कसरी नियमन गर्ने भनेर सरकार तथा संस्थाहरूलाई बुझ्न समय लाग्छ।’

युरोपेली आयोगका उपाध्यक्ष मार्गरेट भेस्टेगरले आचारसंहिताको मस्यौदा केही साताभित्र पेश गरिने बताएकी छिन्। च्याट जिपिटि नामक एआई उपकरणहरू सिर्जना गर्ने कम्पनी ओपनएआइका प्रतिनिधिले पनि यस बिषयमा इयु र युएस बीचको वार्तामा भाग लिएका छन् ।

बैठकपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको थियो – ‘एआई एउटा क्रान्तिकारी प्रविधि हो जसले हाम्रा जनताको उन्नति र समानता बढाउन ठूलो अवसर प्रदान गर्ने क्षमता राख्छ, तर यी अवसरहरूको फाइदा उठाउन हामीले जोखिमहरू पनि कम गर्नुपर्छ।’

संसारका अन्य देशहरूले पनि एआईसँग सम्बन्धित कानुन बनाउने विषयमा छलफल गरिरहेका छन् । यसमा चीन पनि समावेश छ जहाँ एआई प्रविधिको विकासका लागि अत्याधुनिक अनुसन्धान भैरहेको छ ।

रोयटर्स , एपी, एएफपी

प्रतिक्रिया