न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

काठमाडौं । क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’ को सार्वजनिक गरिएको छ । नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ ।
नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो, जसका निर्माता तथा गीतकार सुन्दर राजभण्डारी हुन् । एरेन्जरको रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन् ।
यसको भिडियो निर्देशन बिमलेश अधिकारीले गरेका छन्, जसले सयौँ म्युजिक भिडियो र दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका छन् । अधिकारीले निर्देशन गरेको यो पाँचौँ म्युजिक भिडियो हो । भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।
समारोहमा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, तथा अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा साहित्यकार विप्लव प्रतीकले गीत सुनेपछि आफू भाव विह्वल भएको प्रतिक्रिया दिए । उनले सङ्गीतकार न्ह्यू बज्राचार्यलाई ‘लिभिङ लिजेन्ड’ को संज्ञा दिँदै गीतकार राजभण्डारीको कलात्मकता, गायिका पौडेलको मिठासपूर्ण गायन र निर्देशक बिमलेश अधिकारीको संवेदनशील निर्देशनको खुलेर प्रशंसा गरे । साथै, कलाकार सनिशा र विजुको अभिनयले गीतमा नयाँ उचाइ थपेको उनको भनाइ थियो ।
गीतकार सुन्दर राजभण्डारीले आफू प्रत्येक वर्ष दुई वटा गीत सार्वजनिक गर्ने योजनामा रहेको बताउँदै सशक्त सिर्जना मार्फत नेपाली सङ्गीतमा योगदान दिन चाहेको बताए । निर्देशक अधिकारीले आफैँ अभिनेता भए तापनि यस पटक निर्देशनमै केन्द्रित रहेर काम गरेको र उत्कृष्ट निर्देशन दिन प्रयासरत भएको उल्लेख गरे । गीतमा अभिनय गरेका कलाकार सनिशा भट्टराई र विजु पार्कीले सक्षम टिमसँग काम गर्न पाउनु गर्वको कुरा भएको बताउँदै दर्शकको माया प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।
प्रतिक्रिया