मालिकामा विपन्नको निः शुल्क स्वास्थ्य बिमा

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो ।
गरिब तथा विपन्न, दलित र महिला स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले जानकारी दिए । आठ सय ५७ विपन्न परिवार पहिचान भएका मध्य हालसम्म चार सय ८७ घरपरिवारले स्वास्थ्य बिमामा आवद्ध भएका छन्, उनले भने सात वटा वडामा कार्यरत ५४ महिला स्वास्थ्य स्वमसेविकाहरुको पनि स्वास्थ्य बिमा गरिएको छ ।
स्वास्थ्य बिमामा आवद्ध हुनेहरुको संख्या बढ्ने क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए । स्वास्थ्य बिमाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा ३३ लाख बिनियोजन गरेको छ । बिमा सहजकर्ताहरुले लाभग्राहीको बिमा गराएपछि स्वास्थ्य बिमा कोषलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।
घरधुरी सर्वेक्षण गरेर विपन्न लाभग्राहीहरु पहिचान गरिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । आर्थिक अवस्था कमजोर भएका कारण गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर स्वास्थ्य बिमा गर्न थालेका हौ, उनले भने यस कार्यक्रमबाट विपन्नको उपचारमा पहुँच बढ्ने र स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेका छौ ।
पाँच जना सदस्य भएको एउटा परिवारले वार्षिक तीन हजार पाँच सय शूल्क तिरेपछि एक वर्षभित्र सूचिकृत स्वास्थ्य संस्थाबाट एक लाख बराबरको स्वास्थ्य उपचार तथा औषधी निशूल्क पाउँछन् । मालिका गाउँपालिकाले सञ्चालन गरेको दरवाङ आधारभूत अस्पताल स्वास्थ्य बिमा कार्यक्रममा सूचिकृत प्राथमिक स्वास्थ्य संस्था हो । म्याग्दीमा प्रादेशिक बेनी अस्पताल पनि स्वास्थ्य बिमा कार्यक्रममा सूचिकृत छ ।
पाँच जना भन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा प्रति सदस्य थप रु सात सय योगदान रकम बुझाउनु पर्नेछ र सेवामा थप प्रति सदस्य थप रु। २० हजार का दरले थप्दै प्रति वर्ष अधिकतम रु। दुई लाख सम्मको सेवा पाउनेछ ।
एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड, एम।आर।आई, सिटी स्क्यान, रगतको परिक्षण, साना–ठूला शल्यक्रियाहरु र तोकेको मूल्यमा चश्मा, श्रवणयन्त्र, सेता छडी, वैशाखी लगायतका सेवाहरु बिमा कार्यक्रमबाट पाइन्छ । त्यस्तै, स्वास्थ्य विमा बोर्डले तोकेको सूचिकृत औषधि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया