शनिबार, वैशाख १३, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

नेपालखोज २०८२ वैशाख ६ गते १६:०४

काठमाडौं । दाङको राप्ती गाउँपालिका-५ सिंगेस्थित सडकमा कृष्णनगरबाट घोराहीतर्फ जाँदै गरेको बा.३ ख ७९९६ नम्बरको बस अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका राजपुर गाउँपालिका-६ बस्ने ५७ वर्षीय निल सरोज र हाल नाम, थर, वतन नखुलेकी महिलाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार मध्ये ५ जनालाई लुम्बिनी सिटी अस्पताल बुटवल, १४ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र ६ जनालाई भालुवाङ अस्पतालमा थप उपचारको लागि रिफर गरिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–३ चौपट्टास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री लमही नगरपालिका–६ बस्ने ३७ वर्षीय खगेश्वर रावतको गए राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ ।

रूपन्देहीको कोटहीमाई गाउँपालिका–१ परसपुरवास्थित सडकमा युपि ५५ जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीया राजवन्ती मल्लाहको शुक्रबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धादिङको थाक्रे गाउँपालिका–१ एक्लेफाँटस्थित सडकमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३–०१–०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर खाई गए राति दुर्घटना हुँदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका–१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१६ भुईपुलस्थित सडकमा प्र.२–०३-००१ ख ०६०७ नम्बरको टिपर र बा.०१-०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा कार चालक सर्लाही घर भएका ५० वर्षीय जित नारायाण प्रसाद साह र कारमा सवार सर्लाही बरहथवा नगरपालिका–१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरी शर्माको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रसुती अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया