शनिबार, वैशाख १३, २०८२

मुस्ताङ घट्टेखोलामा चौँरी मेला

नेपालखोज २०८२ वैशाख ६ गते २०:१२

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ घट्टेखालामा आजदेखि चौँरी मेला सुरु भएको छ । मेलामा हिमाली लेकमा पाइने बहुमूल्य जडीबुटी खाएका चौँरीको आलो रगत खाने चलन रहेको छ । यार्सागुम्बा, पाँचऔँले, निरमसी, कुटुकी, बुकी घाँस खाएर हुर्केका चौँरीको आलो रगत खाँदा विभिन्न रोग निको हुने जनविश्वास रहेको छ ।

हिमालयन याक नाक पालन उपसमिति मुस्ताङको आयोजनामा सुरु भएको मेला परम्परादेखि नै चल्दै आएको छ । यस पटक आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गर्न मेला १० दिनसम्म सञ्चालन गर्ने आयोजकको योजना छ ।

उपसमितिका अध्यक्ष बुद्धिरत्न तुलाचनले स्थानीय व्यापाररव्यवसायको प्रवर्द्धन र कृषकको मेहनतलाई थप टेवा पुग्ने हिसाबले बर्सेनि मेला आयोजना गर्ने गरिएको बताए । उनका अनुसार मेलामा गण्डकी प्रदेशका धेरै जिल्ला र विशेषगरी म्याग्दीबाट मानिस आउने गरेका छन् । मेलामा एक गिलास चौँरीको रगतको मूल्य रु तीन सय तोकिएको छ ।

मेलाको पहिलो दिन आज करिब २०० बढी मानिसले चौँरीको रगत पिएको आयोजकले जनाएको छ । यसको सेवनले शरीरमा हुने विभिन्न किसिमका रोग निको हुने जनविश्वासका कारण पनि यसको महत्व बढ्दै गएको तुलाचनको ठम्याइ छ ।

‘मेलालाई परम्परागत रूपमा अगडि बढाई स्थानीय कृषकको व्यापाररव्यवसायमा पनि थप मद्दत गर्नेछौँ । यहाँ आउने बिरामी, अशक्त र पाहुनाका लागि खान र बस्नको कुनै पनि समस्या छैन’, उनले भने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङका देउबहादुर गर्बुजाले विगत छ वर्षदेखि नियमित रूपमा मेलामा सहभागी भई चौँरीको रगत पिउँदै आएको र यसले ग्यास्ट्रिक, गानो दुख्ने र हाडजोर्नीलगायत समस्या निको भएको सुनाए ।

मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु निवासी बिसन पुर्जाले पनि नियमित रुपमा चौँरीको आलो रगत पिउँदै आएका बताए । उनले भने, ‘चौँरीको आलो रगत पिउने कार्य पुरानो जनविश्वास रहे पनि यसको सेवनपश्चात् आफूलाई धेरै राम्रो गरेको छ ।’

मुस्ताङको थासाङ गाउँपालिकाअन्तर्गतका लेकहरू मुलि, ह्याङ्देन, खल्क्यु, बतासेडाँडा, सानुसरेपहाड, छाक्ताङ, मार्चे र नुप्साङमा हुर्के बढेका याक नाकरचौँरीहरूको पालैपालो रगत निकालेर बिक्री गरिनेछ । उपसमितिअन्तर्गतका १० जना कृषक समूहमा करिब ७०० चौँरी रहेका छन् । रासस

प्रतिक्रिया