सडक खुलेको दुई दशकपछि स्तरोन्नति हुँदै

ढोरपाटन । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौंलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला सडकले बागलुङ जोडिएको थिएन ।
पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हटेको हो ।
मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा पर्यो । तत्कालीन जिल्ला विकास समितिले रु १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गर्यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो ।
आर्थिक वर्ष २०६०/६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो । कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाहस्थल पनि हो ।
दैनिकजसो सयौँ नागरिक कालीगण्डकीमा स्नान गर्न पुग्छन् । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सबैभन्दा बढी सास्ती मलामीले भोग्नुपरेको स्थानीयको गुनासो छ । अप्ठ्यारो सडकमा शव बोकेर हिँडेका कति मलामी घाइते भए, त्यसको लेखाजोखा छैन ।
अहिले भने त्यसरी सास्ती र सकस खेपेका मलामीमात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौँदेखि आजित बनेका निरयघाट र माझी बस्तीका स्थानीय खुसी छन् । पोहोर सालसम्म सडकको धुलोले घरको छानो र पिँढी ढपक्क ढाकिने गरेको बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझी बताउँछन् ।
निरयघाट पहिलेको तुलनामा सडक सुविधाले फराकिलो र विस्तारित छ । तर, यस क्षेत्रको विकासका नाममा गरिएको जथाभावी डोजर प्रयोग र पूर्वाधारले कुरुप तथा जोखिम बढाएको छ ।
स्थानीय महेन्द्र आचार्य सडक विस्तारलगायत पूर्वाधार विकासमा स्थानीयसँग कुनै पनि समन्वय नगरी निर्माण कम्पनीले सडक फारिकलो र नाली बनाउँदा खुला चौर मासिएको बताउँछन् ।
अव्यवस्थित रूपमा नाली निर्माण गर्दा निरयघाट कुरुप बनेको उनको भनाइ छ । सडक स्तरोन्नतिपश्चात खनियाघाटवासीको जीवनशैलीमा परिवर्तन आउने आचार्य बताउँछन् ।
माझीबस्तीकी ७५ वर्षीया फूलमाया माझीले सडक व्यवस्थित बन्न थालेपछि धुलो र हिलो कम भएको बताउनुभयो । पुस÷माघमा घाम ताप्न आँगनमा बस्दा धुलो उडेर एकैछिनमा फोहर बनाइदिने गरेको उहाँको भनाइ छ । सरकारले सडक स्तरोन्नति गर्न धेरै ढिला गरेको माझीले बताए ।
उक्त सडक स्तरोन्नति गर्न गत वर्ष जेठमा फेवा/आशिष जेभीले जिम्मा पाएको थियो । रु सात करोड ५० लाखमा आगामी असार ३० गतेसम्म उक्त सडक कालोपत्र गर्ने योजना रहेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । हालसम्म ६० प्रतिशत काम सकिएको उनको दाबी छ ।
सडकको सहजतापछि निरयघाटमा फेरि एकपटक चहलपहल बढ्ने देखिन्छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधीन छ भने वृद्धाश्रम बनिसकेको छ । यस ठाउँलाई ध्यान केन्द्रका रूपमा विकास गर्न सके निरयघाट क्षेत्र सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेकाले पर्यटन प्रवर्द्र्धन गर्न सडकले महत्त्वपूर्ण भूमिका खेल्ने बागलुङ नगरपालिकाका प्रमुख बुसन्तकुमार श्रेष्ठले बताउनुभयो । निरयघाटलाई ‘इको टुरिजम’का रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।
पर्वतको खनियाघाट, बागलुङको निरयघाट र माझीबस्तीलाई बागलुङ बजारसँग सिधा जोड्नका लागि पक्की सडक बनाउन थालेको उनको भनाइ छ । कृषि उत्पादनका हिसाबले निरयघाट उर्वर रहेकाले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न बढी सघाउ पुग्ने उहाँ बताउँछन् । रासस
प्रतिक्रिया