शुक्रबार, वैशाख १२, २०८२

साहित्यमा नयाँ पुस्तालाई जोड्न कविता वाचन तथा विमर्श

नेपालखोज २०८२ वैशाख ८ गते ९:२९

राँझा । साहित्यमा नयाँ पुस्तालाई जोड्न बाँकेमा कलेजस्तरमा कविता वाचन तथा विमर्श कार्यक्रम सञ्चालन गरिएको छ ।

युवा कवि कपिल अञ्जानले समग्र पश्चिम क्षेत्रको साहित्यमा नयाँ पुस्ताका अनुहार कम देखिन थालेपछि यस्ता कार्यक्रम आयोजना गरिएको बताए । विद्यार्थीलाई साहित्यमा समेट्न आइतवार कवि महेश पौड्यालको एकल कविता वाचन तथा विमर्श कार्यक्रम गरिएको कवि अञ्जानले जानकारी दिए ।

कवि पौड्यालले एकल कविता वाचन तथा विमर्श कार्यक्रममा हालको समसामयिक, देशप्रेम, सिमाना, माया पिरतीलगायतका विविध विषयका डेढ दर्जन बढी लामा, छोटा कविता वाचन गर्दा विद्यार्थीले चासो दिएका जनाइएको छ ।

कार्यक्रमम साहित्यकार प्रा डा कृष्णप्रसाद घिमिरेले प्राविधिक शिक्षा पढेकालाई पनि साहित्यमा समेट्ने यो प्रयासमा कवि महेश पौड्याल जोडिनुले पनि अर्थ राख्ने बताए । डा. रेवती सिंहले यस कार्यक्रमले आगामी दिनमा साहित्यमा अग्रसर हुन अध्ययनरत विद्यार्थीलाई हौसला दिने बताए ।

प्राचार्य शिशिर सापकोटाले साहित्यको विकास सँगसँगै विद्यार्थी, शिक्षक र कर्मचारीहरूलाई पनि हौसला थपिने बताए । नेपाली साहित्यलाई साहित्य लेखनमा लागेका व्यक्तिभन्दा बाहिरसम्म लैजान जरुरी ठानेर अब स्कुल, कलेजसँग सहकार्य गर्दै जाने योजना बनाएको कवि डा देवेन्द्र आचार्यले बताए ।

प्रतिक्रिया