मालिकामा ‘होम डेलिभरी’ शून्य

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै सुत्केरीपछि महिलामा विभिन्न समस्याले सताइरहने हुँदा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्यमा झारिएको हो ।
जोखिमयुक्त प्रसूतिका कारण हुने सक्ने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले बताए । चालु आर्थिक वर्ष २०८१/८२ सुरू भएयता मालिका गाउँपालिकामा सुत्केरी भएका सबै ८० जनाले स्वास्थ्य संस्थामा बच्चा जन्माएका छन्, उनले भने, चालु आर्थिक वर्षको बाँकी तीन महिना र आगामी आर्थिक वर्षमा पनि होम डेलिभरी शून्य बनाउन सचेतनामूलक कार्यक्रममा जोड दिएका छाैं ।
आर्थिक वर्ष २०७९/८० मा मालिका गाउँपालिकाभित्र एक सय ९५ जना सुत्केरी हुँदा १८ जना महिला घरमै सुत्केरी भएका थिए । त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा एक सय ३३ जना सुत्केरी हुँदा नौ जनाले घरमै बच्चा जन्माएका थिए । मालिकाको निस्कोट, रूम, देवीस्थान, बिम स्वास्थ्य चौकी र दरवाङ आधारभूत अस्पतालमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ । निस्कोटमा एक, रूममा २२, देविस्थानमा १६ र दरवाङ आधारभूत अस्पतालबाट ३८ जनाले प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख कार्कीले बताए ।
आठ पटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र सचेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको मालिका गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती पुनले बताए । गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै सचेतनाका कार्यक्रम सञ्चालन भएका छन्, उनले भने, सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेको छ ।
प्रतिक्रिया