शुक्रबार, वैशाख १२, २०८२

इस्टर बम विस्फोटको वार्षिकोत्सवमा श्रीलङ्काका क्याथोलिकहरूद्वारा विरोध प्रदर्शन

नेपालखोज २०८२ वैशाख ८ गते १७:४८

कोलम्बो । श्रीलङ्काका क्याथोलिकहरूले सोमबार इस्टर बम विष्फोटको छैटौँ वार्षिकोत्सव मौन मार्च र न्यायको मागसहित मनाएका छन् । सन् २०१९ अप्रिल २१ मा तीन चर्च र तीनवटा होटललाई लक्षित गरी गरिएको बम विस्फोटको थुप्रै अनुसन्धानहरूले इस्लामिक स्टेट समूहसँग सम्बद्ध भएको दाबी गर्ने स्वदेशी जिहादीहरूले आक्रमण गरेको निष्कर्ष निकालेका थिए ।

यद्यपि यस मुलुकको क्याथोलिक चर्चले लगातारका सरकारहरूलाई आक्रमणको पछाडि रहेका मानिसहरूलाई जोगाएको आरोप लगाएको छ र धेरै उच्चस्तरीय अनुसन्धानहरूले सैन्य गुप्तचर एकाइहरू र बम विस्फोटकारीहरू बिचको सम्बन्ध पहिचान गरेको छ ।

श्रीलङ्काको चर्चका प्रमुख कार्डिनल माल्कम रञ्जितले राजधानी कोलम्बोमा मार्चको नेतृत्व गरे । मार्चमा उनले पीडितहरूका लागि बहु–धार्मिक समारोहको अध्यक्षता गरे जसमा ४५ विदेशी थिए । पीडितका सयौँ आफन्तले सेन्ट लुसिया क्याथेड्रलबाट नजिकैको सेन्ट एन्थोनी चर्चसम्म पदयात्रा गरे ।

त्यहाँ पहिलो आत्मघाती आक्रमण भएको थियो । देशभरका सबै रेडियो र टेलिभिजन च्यानलहरूले सम्मानको प्रतीकका रूपमा दुई मिनेटका लागि आफ्नो प्रसारण मौन गरे । भ्याटिकनले मारिएका एक सय ६७ क्याथोलिकलाई ‘आस्थाका साक्षीहरू’ का रूपमा मान्यता दिएको र उनीहरूलाई सम्भावित सन्तत्वको बाटोमा राखेको रञ्जितले घोषणा गरे ।

प्रतिक्रिया