शुक्रबार, वैशाख १२, २०८२

‘कर्णाली र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखी बजेट विनियोजन गरिने छ’

नेपालखोज २०८२ वैशाख ९ गते २०:२१

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले कर्णाली प्रदेश र पिछडिएको क्षेत्रका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका छन् ।

आज सिंहदरबारस्थित राष्ट्रियसभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) सम्बन्धी विषयमा खानेपानी मन्त्रालयबाट हालसम्म भएका कार्य प्रगति र आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमबारे भएको छलफलमा उनले यस्तो बताएका हुन् ।

मन्त्री यादवले जनतालाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउनु सरकारको मुख्य प्राथमिकता भएकाले यस पटकको खानेपानी बजेटमा दुर्गम तथा पिछडिएको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

उनले भने, ‘विशेषगरी कर्णाली प्रदेशका दश जिल्लामा खानेपानीको अवस्था अत्यन्तै गम्भीर छ । आगामी बजेटमा उक्त प्रदेशका जनतालाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध गराउन विशेष योजना निर्माण गरी कार्यान्वयन गरिने छ ।’

फिनल्याण्ड सरकार, स्थानीय तह र खानेपानी मन्त्रालयको समन्वयमा कर्णालीका दश जिल्लामा खानेपानीका क्षेत्रमा काम भइरहेको मन्त्री यादवले जानकारी दिए ।

समितिका सदस्यहरूका प्रश्न जवाफमा उनले आफूले मन्त्रालय सम्हालेपछि रोकिएका थुप्रै योजनाको विस्तृत अध्ययन गरिएको, धेरै आयोजनाहरू पुनः सञ्चालनमा ल्याइएको र हालसम्म ९८ प्रतिशत नेपाली जनतालाई आधारभूत तथा २७ प्रतिशतलाई सुरिक्षत खानेपानी उपलब्ध गराउने लक्ष्य रहेको जानकारी गराए

प्रतिक्रिया