शुक्रबार, वैशाख १२, २०८२

नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते

नेपालखोज २०८२ वैशाख १२ गते २०:१२

नवलपरासी । पश्चिम नवलपरासीमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् ।

आज बिहान प्रतापपुर गाउँपालिका-६ गुठ्ठीप्रसौनी बस्ने ३६ वर्षीय रघुवीर केवटले बारीमा काम गरिरहेका बेला चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले जानकारी दिए । उनको अनुहार, ढाड र टाउकोमा चोट लागेको छ ।

केवटलाई चितुवाले आक्रमण गरेको चार घण्टापछि फेरि तीन जनालाई आक्रमण गरी घाइते बनाएको पन्तले बताए ।
चितुवाले प्रतापपुर-६ का दुई र सुस्ताका एक जनालाई घाइते बनाएको प्रनाउ पन्तले जानकारी दिए । उनका अनुसार प्रतापपुरका ३० वर्षीय प्रेमे कोइरीको हातमा, २८ वर्षीय उमालाल कोइरीको खुट्टाको पञ्जामा र सुस्ता गाउँपालिका-५ बस्ने महमद मियाको बाँया हातमा चोट लागेको छ ।

चितुवाले आक्रमण गरेका सबै उपचारपछि घर फर्किएका छन् । मानिसलाई घाइते बनाएको चितुवालाई इलाका प्रहरी कार्यालय बेलाटारी र प्रतापपुररसुस्ताको सवडिभिजन वन कार्यालय बरुवाको संयुक्त टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया