शनिबार, वैशाख १३, २०८२

प्रधानमन्त्रीले भने- सरकार ढल्छ भन्नेहरु गल्न थालेका छन्

नेपालखोज २०८२ वैशाख १३ गते १६:२१

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरु अहिले फत्रक्क गलेका टिप्पणी गरेका छन् ।

नेकपा (एमाले) संसदीय दलको बैठकमा उनले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र ‘मिसन’मा केन्द्रित दलका सांसदहरुलाई निर्देशन दिएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिगमनकारीहरुले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेकाले त्यसको सशक्त प्रतिकार गर्नुपर्नेमा जोड दिँदै संसदीय दलका नेता नेता ओलीले अवाञ्छाति गतिविधि गर्नेलाई कानुनको दायरामा ल्याउन सरकार पछि नपर्ने बताए ।

अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसद्बाट पारित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपालले आफ्नो विकास अरुको आशमा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताए ।

‘एमाले मिसन २०८४’ मार्फत बलियो राष्ट्रिय शक्तिका रुपमा रुपान्तरण हुन लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा उनले जोड दिए । उनले पार्टी दस्तवेजहरुको अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत एवं तथ्यमा आधारित भएर सदनमा प्रस्तुत हुन निर्देशन दिए ।

प्रतिक्रिया