शनिबार, वैशाख १३, २०८२

‘खेलकुदको विकासका लागि प्रदेशमा खेलकुद ग्राम निर्माण गर्नेछौँ’

नेपालखोज २०८२ वैशाख १३ गते १९:४०

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेशमा ‘कोशी खेलकुद ग्राम’ निर्माण गरिने बताएका छन् ।

मनमोहन मेमोरियल कप फाउन्डेसन इनरुवाद्वारा आजदेखि विराटनगरमा आयोजित तेस्रो संस्करणको ‘एमएम राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता–२०८२’ उद्घाटन गर्दै उहाँले ग्राम स्थापनाबाट समग्र खेलकुद क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले पूर्वाञ्चल विश्वविद्यालय र सुन्दरहरैचा नगरपालिकासँगको संयुक्त प्रयासमा खेलकुदबारे पठनपाठन र रङ्गशालालासहित अन्य सामग्रीको व्यवस्था गरिने बताए । उनले प्रदेश सरकारले आगामी तीन वर्षभित्र यस क्षेत्रमा क्रिकेटका लागि अन्तरराष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे । विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद रङ्गशालामा यही वैशाख १७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ ।

पचास ओभरको ‘लिगकम नकआउट’ का आधारमा हुने प्रतियोगितामा नेपाल पुलिस, सशस्त्र प्रहरी बल, नेपाल आर्मीका विभागीय टोली, बागमती, कोशी प्रदेश र भारतको आसाम क्रिकेट क्लबको सहभागिता रहेको फाउन्डेसनका अध्यक्ष विप्लव घोषले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीलाई चार लाख, दोस्रोलाई दुई लाख प्रदान गरिने छ भने उत्कृष्ट हुने विधागत खेलाडी र प्लेयर अफ दी म्याचलाई नगद पुरस्कारको व्यवस्था रहेको छ ।

प्रतियोगितामा नेपालका ‘क’ श्रेणीका क्रिकेट खेलाडीहरूको सहभागिता रहेको छ । आयोजकले यसअघि सुनसरीको इनरुवामा २०७५ सालमा पहिलो र २०७६ मा दोस्रो चरणको प्रतियागितामा सम्पन्न गरिसकेको छ । आज भएको खेलमा साबिक विजेता नेपाल आर्मीको त्रिभुवन क्लबले सशस्त्र प्रहरी क्लबलाई दुई विकेटले पराजित गरेको छ ।

प्रतिक्रिया