शनिबार, वैशाख १३, २०८२

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण

नेपालखोज २०८२ वैशाख १३ गते २०:३४

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–८ सुन्दरबस्तीमा बसोबास गर्ने ६० वर्षमाथिका ५० जना ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

जनमैत्री युवा क्लब र ‘नेक्स्ट स्मार्ट सपिङ’ को सहकार्यमा पुस्तान्तरण नेपालले आज स्वास्थ्य परीक्षण आयोजना गरेको हो । परीक्षणका लागि आएका अधिकांश ज्येष्ठ नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या देखिएको परीक्षणमा सहभागी डा विन्दु पाण्डेले जानकारी दिए ।

उनले भने, शिविरमा ६० देखि ९० वर्ष उमेरका ५० जना आएका थिए । उनीहरूमा सुगर, हड्डी खिइएको, प्रेसरलगायत समस्या देखियो । कतिपयले नियमित औषधि सेवन गरिरहेका रहेछ । धेरै जसोका छोराछोरी रोजगारीका क्रममा विदेशमा रहेकाले नियमित परीक्षण नगरेको पायौँ । पुस्तान्तरण नेपाल ज्येष्ठ नागरिकका लागि आवश्यक सेवा प्रदान गर्ने संस्था हो ।

‘सम्मानित बुढ्यौली निर्माण’ भन्ने उद्देश्यले सञ्चालित संस्थाले ज्येष्ठ नागरिकका लागि यातायात, स्वास्थ्य, मनोरञ्जन तथा दिवा सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रतिवेदन वैद्यले जानकारी दिए । हालै स्थापना भएको यस संस्थाले भविष्यमा ज्येष्ठ नागरिकको सहज जीवनयापनका लागि ‘ज्येष्ठ नागरिक भिलेज’ स्थापना गर्ने लक्ष्य राखेको उनले बताए ।

प्रतिक्रिया