मंगलबार, वैशाख १६, २०८२

सहिद र बेपत्ता व्यक्तिका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको छ : अध्यक्ष दाहाल

नेपालखोज २०८२ वैशाख १६ गते १९:१२

गोदावरी (कैलाली) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद र बेपत्ता भएका परिवारका मागलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

आज धनगढी उपमहानगरपालिका–१८ फूलबारी डिपो बजारमा आयोजित सहिद परिवारहरूसँग भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा उनले सशस्त्र युद्ध सफल पार्न सहिद एवं बेपत्ता भएका व्यक्तिको महत्वपूर्ण योगदान रहेको स्मरण गरे ।

अध्यक्ष दाहालले पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हाल देशभर सहिद तथा बेपत्ता परिवारहरूसँग संवाद र भेटघाट गरी समस्या बुझ्ने काम भइरहेको बताए । उनले भने, ‘हामीले तपाईंहरूका पीडा बिर्सेका छैनौँ, बिर्सने पनि छैनौँ । म प्रधानमन्त्री हुँदा जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा घोषणा गरेका थियौँ । यो सहिद, बेपत्ता र परिवर्तनका लागि योगदान दिने सबैको सम्मानको विषय हो ।’

कार्यक्रममा सहिद परिवारका तर्फबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले सहिद र बेपत्ता परिवारको मागलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘समस्या जहाँ हुन्छ, त्यस समाधान पनि हुन्छ, सोहीअनुसार यहाँहरूले राखेका माग सम्बोधनको प्रयास गर्नेछौँ, नसके केन्द्रमा पु¥याएर अगाडि बढाउनेछौँ’, उनले भने ।

अध्यक्ष दाहालले द्वन्द्वमा भएका घटनाको निकाश दिन सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयक अन्तिम चरणमा पुगेको, आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनेको र त्यसकै आधारमा बाँकी प्रक्रियाले गति लिने धारणा राखे । उनले आयोग बनेपछि राज्यले सहिद तथा बेपत्ताका नाममा प्रमाणिक मान्यता दिने, प्रमाणपत्र वितरणलगायत सहिदहरूको सम्मान र स्मृतिका लागि आवश्यक काम गरिने बताए ।

सहिद र बेपत्ता भएका परिवारका कम्तीमा एक जनालाई रोजगारी दिने, सार्वजनिक यातायातमा छुट दिने र परिपूरण सुनिश्चित गर्ने कानुनी व्यवस्था विधेयकमै रहेको अध्यक्ष दाहालको भनाइ थियो । रासस

प्रतिक्रिया