शुक्रबार, वैशाख १९, २०८२

कर्णालीमा बजेट निर्माण प्रक्रिया सुरु, बजेट शून्य दशमलव पाँचदेखि तीन प्रतिशतसम्म बढ्नसक्ने

नेपालखोज २०८२ वैशाख १७ गते १६:२३

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश सरकारले बजेटको प्रक्रिया सुरु गरेको छ । बजेट निर्माणको दायित्व बोकेको आर्थिक मामिला तथा योजना मन्त्रालयले अन्य मन्त्रालयहरूलाई बजेट सिलिङ वितरण गरेर कामको सुरुआत गरेको हो ।

चालु आर्थिक वर्षभन्दा आगामी आव २०८२/८३ को बजेट शून्य दशमलव पाँचदेखि तीन प्रतिशतसम्म बढ्नसक्ने आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बताए । बजेट निर्माणका लागि आन्तरिक तथा बजेटका विभिन्न पक्षसँग समन्वय र छलफल भइरहेको उनले जानकारी दिए ।

प्रदेश सरकारले असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्थाअनुसार अहिले मन्त्रालयले छलफल, समन्वयलगायत आन्तरिक गतिविधिलाई तीव्रता दिएको शाहले उल्लेख गरे । मन्त्रालयलाई बजेट सिलिङ दिएसँगै बजेटसँग सम्बन्धित विभिन्न विषयमा मन्त्रालय तथा सरोकार भएका निकायसँगको छलफललाई तीव्रता दिइएको उनको भनाइ छ ।

तत्कालीन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले चालु आवका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट ल्याएका थिए । चालु आवको बजेट ७५ प्रतिशतसम्म कार्यान्वयन हुने अनुमानको आधारमा आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु भएको मन्त्री शाहीले बताए । साना योजनाभन्दा पनि देखिने योजनाहरूमा आफूहरू केन्द्रित भएको उनको भनाइ छ । रासस

प्रतिक्रिया